देउराली ।  छोरो बनाएर बेलायत पठाउने धन्दामा  नक्कली  नागरिकता बनाउन खोज्दा पूर्व बेलायती सैनिक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा   ताप्लेजुङ मैवाखोला गाउँपालिका–४ घर भई हाल लेटाङ नगरपालिका–७ बस्ने वर्ष ६१ को सुर्यहाङ लिम्बु र जिल्ला सुनसरी धरान –११ बस्ने वर्ष ६० को सूर्य बहादुर फ्याङ्ग लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालका अनुसार पूर्व बेलायत सैनिक सुर्यहाङले बाबु बनेर  पोखरा महानगरपालिका–१० का रविन गुरुङ, १२ नम्बर वडा बस्ने वर्ष १९ को प्रशान्त मगर र १६ नम्बर वडाका  बस्ने वर्ष २९ को गणेश गुरुङलाई सुरज लिम्बु, साजन लिम्बु र सविन लिम्बुको नाममा झुटो नागरिकता बनाएको थिए ।

छोरा बनाएर बेलायत पठाउने भन्दै नागरिकता बनाएका उनीहरूबाट  सुर्यहाङले पाँच लाख लिएको अनुसन्धानमा बयान दिएको  प्रहरी नायव उपरीक्षक दाहालले बताएका छन् । 

दाहालका अनुसार, पूर्व बेलय सैनिकलाई बाबु बनाएर उनहरूको सन्तान भएको नक्कली नाता  प्रमाणित गरेर बेलायत बढाउने धन्दामा सक्रिय रहेको एक समूहले धरानका सूर्य बहादुरलाई भेटेका थिए । उनकै माध्यमबाट सुर्यहाङले उनीहरूलाई बेलबारी नगरपालिका ११ स्थायी ठेगाना उल्लेख गरी मोरङ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको दाहालले बताए । 

उनले भने " बेलबारी ११ स्थायी ठेगाना भनेर उल्लेख गरेको रहेछ । वडाको पनि सिफारिस रहेछ तर, वडा कार्यालयले आफूहरूले सिफारिस दिएको डाटामा समेत उल्लेख नभएको बताएपछि त्यो सिफारिस किर्ते हुनसक्ने अनुमान छ ।" 

उनीहरूले २०७८ साल माघ १० गते  जिल्ला प्रशासन कार्यालय, मोरङबाट नागरिकता लिएको दाहालले बताए । " यो एउटा गिरोह नै रहेछ । नागरिकता बनाइदिने,  कागज पत्र किर्ते गर्ने , बेलायत पठाउन भन्दै काम गर्ने , त्यो मध्येका एउटा समूहले   धरानका सूर्य बहादुरलाई भेटेछ र उसको माध्यबाट सुर्यहाङलाई भेटेर नागरिकता बनाउने काम गरेको देखियो । बाँकी काम गर्ने गिरोहमा संलग्न अरू पनि छन् भन्ने छ ।  "  प्रहरी नायव उपरीक्षक दाहालले भने ।

उनले, गिरोहमा संलग्न पोखराबाट आएका अन्य दुई जनासहित नागरिकता लिने तीन जना फरार रहेकोले खोजी कार्य भइरहेको बताएका छन् । पक्राउ परेका सुर्यहाङ र सूर्य बहादुरलाई अनुसन्धानपछि मोरङ जिल्ला अदालतमा पेस गराएपछि अदालतको आदेशमा साउन एक गते  पुर्पक्षको लागि कारागार चलान गरिएको दाहालले बताए ।