देउराली ।  वराहक्षेत्र नगरपालिका ९ राजाबासमा  युवतीहरूको दुई समूह बिच भएको कुटपिटमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

असार २९ गते राजाबासको  चिहान डाँडा स्थित कोसी नदीको किनारमा  युवतीहरूको  दुई समूह बिच झगडा भएको थियो ।  वराहक्षेत्र ८ की २२ वर्षीया विनीता उराउ र १७ वर्षीया सन्ध्या परियारको समूह बिच भएको  झगडामा  उराउको समूहले सन्ध्याको समूहलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि  प्रहरीले उराउको समूहकी एक युवतिलाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर राजेश दत्तका अनुसार  वडा नम्बर १० प्रकाशपुरकी  प्रीति लिम्बूलाई पक्राउ गरेको हो । 

उराउ समूहमा प्रीतिसहित १९ वर्षीय सन्जिता राई,  निहाङ राई  र दुर्गा राई गरी ५ जनाको समूहले आफ्नो केटा साथीसँग बोलेको भन्दै   सन्ध्यासहित   १६ वर्षीय नबिना विश्वकर्मा र   १९ वर्षीय मनीषा राईलाई कुटपिट गरेको खुलेको  दत्तले बताए । 

उनले भने ' उराउको समूहले आफ्नो ब्याइफ्रेन्डसँग किन बोलिस् भनेर कुटपिट गरेको रहेछ । हिजो हामीलाई  जाहेरी आएकोले एक जनालाई पक्राउ गरेका छौँ  । अदालतमा म्याद थपको प्रक्रियामा छौँ । '

उनले कुटपिटमा संलग्न अन्य चार जनाको खोजी कार्य भइरहेका भन्दै  उनीहरू विरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको बताएका छन् । 

कुटाइ खाने तीन जनाको अवस्था सामान्य रहेको दत्तले बताएका छन् ।