भद्रपुर ।  बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा सामुदायिक वनबाट चोरी तस्करी गरी लगिएको ६ वटा सखुवाका गोलिया बरामद गरिएको छ ।

आइतबार बिहान साढे पाँच बजे वनबाट चोरी गरी बिर्तामोड–३ स्थित प्रज्वल फर्निचरमा पुर्याएको अवस्थामा पिछा गर्दै गएका उपभोक्ताहरूले काठ फेला पारी डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । मे.१ च ३०७९ नं. को सेतो रङको गाडीबाट काठ अनलोड गरिसकेको अवस्थामा उपभोक्ताहरू पुगेका थिए ।

४३ दशमलव ३४ क्युविक फिट काठ बरामद गरी डिभिजन वन कार्यालयमा ल्याइएको र चोरी तस्करीमा संलग्नहरूको खोजी भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् । सुन्दर निचाझोडा वनमा चोरी तस्करी बढेपछि उपभोक्ताहरूले गस्ती गर्न थालेको वन समितिका अध्यक्ष बद्री प्याकुरेलले बताए ।