इनरुवा । अङ्गभङ्ग हुने गरी दुर्घटना गराई फरार सवारी साधन प्रहरीले एक साता बितिसक्दासमेत फेला पार्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गको इनरुवा–६ सडक खण्डमा विपरीत दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिई फरार कार प्रहरीले एघार दिनसम्ममा पनि फेला पार्न नसकेको हो ।

अनुसन्धानका क्रममा कार चालक जितेन्द्र यादवलाई पक्राउ गरेर प्रहरीले सवारी अङ्गभङ्ग मुद्दामा म्याद थप गरी कारबाहीको प्रक्रिया अघि बढाएको छ । प्रहरी नियन्त्रणमा रहेका चालक स्वयम्ले समेत जानकारी नदिएकाले कार फेला पार्न नसकेको प्रहरी बताउँछ ।

आफूले चलाएको गाडीले ठक्कर दिएको स्वीकारेका जितेन्द्रले अनुहारमा चोटपटक लागेका घाइते मोटरसाइकल चालकको उपचार खर्चसमेत बेहोरेका छन् । त्यति हुँदासमेत उनले दुर्घटना गराउने कारको बारेमा प्रहरीलाई जानकारी नदिएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न जितेन्द्रको हकमा दोस्रो पटकसम्म म्याद थपेर अनुसन्धान गरिएको जनाएको छ ।

प्रहरीका अनुसार असार १३ गते बिहान अन्दाजी साढे एघार बजे भएको दुर्घटनामा संलग्न रही फरार रहेका यादव भोलिपल्ट १४ गते अपरान्ह इटहरीबाट पक्राउ परेका हुन् । विपरीत दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिने कार चालक नेपाली काङ्ग्रेसका युवा नेता तथा क्षेत्र नम्बर ४ का क्षेत्रीय सह–सचिव हुन् ।

स्रोतका अनुसार यादवलाई नियन्त्रणमा लिए लगत्तै उनलाई छुटाउन काङ्ग्रेस नेताहरूको ठूलै दबाव प्रहरीलाई परेको थियो । यद्यपि प्रहरी भने दुर्घटनासँगै शङ्कास्पद देखिएको कारको प्रसङ्गलाई चोरी मुद्दासँग जोडेर मुद्दा अघि बढाउने गरी मिसिल तयारीमा जुटेपछि अनुसन्धान प्रक्रिया लम्बिन पुगेको हो ।

सोही अनुसार प्रहरीले सरकारी वकिलको कार्यालय सुनसरीमा मिसिलसमेत बुझाएको छ । यता घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले दुर्घटनाको सम्बन्धमा दुई पक्ष मिलापत्र भएकाले सोहीअनुसारको कानूनी प्रक्रिया अघि बढाइएको बताए । उनले फेला नपरेको कारको सम्बन्धमा भने शङ्कास्पद मानी थप अनुसन्धान जारी रहने बताए ।