विजयपुर । प्रतिबन्धित औषधि र लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

बुधबार लेटाङ नगरपालिका–८ मोरङबाट २६ वर्षीय अभिषेक दर्र्जीलाई ६ सय ४५ चक्की ट्रामाडोल, ट्रामाडोलको खोल १० पत्ता, ७ सय ५३ चक्की स्पासपेनसहित मोरङ प्रहरीले पक्राउ गरेको हो । दर्र्जीलाई आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएको प्रहरीले जनाएको छ ।

यस्तै लेटाङ–८ बाट २० वर्षीय दिवाहाङ राई र २० वर्षीय पवन बाग्दासलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरूलाई ९ किलो ५ सय ग्राम गाँजा, गाँजा तान्ने बाँसको पाइप १ थान र १ थान लाइटरसहित पक्राउ गरेको हो । उनीहरूलाई लागूऔषध कसूरमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।