विजयपुर । गर्मी बढेपछि तराई क्षेत्रका विद्यालय बन्द हुन थालेका छन् । सुनसरीका विभिन्न स्थानीय तहले विद्यालय बिदा दिएका छन् ।

इटहरी उपमहानगरले बुधबार दुई दिन जेठ १७ र १८ गते छुट्टी दिने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान कार्यालय धरान प्रमुख रुद्रबहादुर परियारले गर्मी बढेपछि दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पर्ने बताए । उनले मनसुन सुरु नभएसम्म तापक्रम उतार–चढाव हुने बताए । इनरुवालगायतका क्षेत्रमा पनि विद्यालय बिदा दिइएको छ ।

तापक्रम बढेपछि धरानमा पनि विद्यालय बन्द गर्नुपर्ने माग हुन थालेको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका अनुसार बुधबार धरानको अधिकतम् तापक्रम ३७ डिग्री मापन भएको छ । न्यूनतम् तापक्रम २८ डिग्री भएको छ । ३७ डिग्री अधिकतम् तापक्रम हुँदा अत्यधिक गर्मी भएको महसुस गरी नागरिकले विद्यालय बन्द गर्नु पर्ने माग गरेका छन् । सन्तोष कोइरालाले फेसबुकमा ‘गर्मीले गर्दा बालबालिकालाई कष्ट भइरहेको छ ।

शिक्षा महाशाखासँग समन्वय गरेर केही दिनलाई विद्यालय छुट्टी दिँदा असल होला’ लेखेका छन् । सन्तोषको स्टाटसमा धरानकी निवर्तमान उपप्रमुख मञ्जु भण्डारी सुवेदीले ‘गर्मीमा बिहानको कक्षा सुरु गर्नुपर्छ । हामी स्कुल पढ्दा वैशाख र जेठमा बिहान ६ बजेदेखि पढाइ सुरु र १ बजे बिदा हुन्थ्यो’ भन्दै प्रतिक्रिया दिएकी छन् । भोला श्रेष्ठले ‘इनरुवा नगरले छुट्टी गरि सके’ लेखेका छन् । अन्य धेरैले गर्मीले बालबालिकालाई समस्या हुने भन्दै केही दिन बन्द गर्नु उपयुक्त हुने धारणा राखेका छन् ।