धरान । धरान–५ स्थित डीपी विलिभर्स इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूसँग एक दिने ‘किशोरकिशोरीहरूका लागि अभिभावकत्व’ विषयमा सेमिनार गरिएको छ ।

कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई लक्षित गरी सोमबार सेमिनार गरिएको स्कुलका प्रिन्सिपल सन्जीप बान्तवाले जानकारी दिए । प्रिन्सिपल बान्तवाले वर्तमान समयमा अभिभावकहरू सतर्क, धैर्यशील बन्न आवश्यक रहेकाले प्रशिक्षण, जानकारी, अन्तरक्रिया र अनुभव साझेदारी गर्ने उद्देश्य सेमिनार गरिएको बताए ।

अराइज एन्ड साइन नेपालका कार्यकारी निर्देशक योहोसु सुब्बा लिम्बूले किशोरकिशोरीहरूको उमेर, प्रकृति, मनोविज्ञान, रुचिहरू किशोरावस्थामा परिवर्तन हुने भएकाले उनीहरूको मनोविज्ञान बुझेर अभिभावकहरूले धैर्यता र बुद्धिमानीपूर्वक व्यवहार गर्नुपर्ने बताए । अभिभावकले पनि लक्ष्य निर्धारण, समय व्यवस्थापन, समय सान्दर्भिक सुझाव र परामर्श, अनुकरणीय मार्गदर्शन दिँदै सकारात्मक अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

अराइज एन्ड साइन नेपालका प्रशासक विष्णु अवस्थी र कार्यक्रम संयोजक राधिका लामाले अभिभावकहरूलाई रचनात्मक खेलहरू खेलाए । अतिथिहरूलाई स्कुलका सहायक प्रिन्सिपल कुर्मित (लेप्चा) बान्तवाले मायाको चिनो प्रदान गरे । सेमिनारमा करिब ५० जना अभिभावक उपस्थित रहेको कार्यक्रम सञ्चालक शिक्षक वीरेन्द्र लिङ्देनले जानकारी दिए ।