धरानमा आगामी जेठ १४ गतेदेखि १६ गतेसम्म कोशी प्रदेशस्तरीय तीनदिने बृहत् संस्कृत सम्मेलन आयोजना गरिने भएको छ । 

संस्कृत सम्मेलनमा १२ वटा कार्यपत्र प्रस्तुत गर्ने हुनेछन् । शुक्रबार पिण्डेश्वर विद्यापीठमा आयोजित पत्रकार सम्मेलनमा बृहत् संस्कृत सम्मेलनबारे जानकारी दिइएको छ । 

सम्मेलनको पहिलो दिन उद्घाटन सत्र हुनेछ । सोही दिन दोस्रो सत्रबाट कार्यपत्र प्रस्तुत हुनेछन् । पहिलो दिनको सत्रमा ४ वटा कार्यपत्र प्रस्तुत गरिनेछ । पिण्डेश्वर विद्यापीठका प्राध्यापक डा. भवानीशङ्कर भट्टराईका अनुसार दोस्रो दिन दुई सत्र हुनेछन् । पहिलो सत्रमा ३ र दोस्रो सत्रमा ३ कार्यपत्र प्रस्तुत गरिने छ । 

सम्मेलनको तेस्रो दिनका दुई सत्रमा पहिलो सत्रमा दुई कार्यपत्र प्रस्तुत हुनेछन् भने दोस्रो सत्र समापन सत्र हुने छ । 

saskrit sammelan dharan blastkhabar (1)

पहिलो दिनको उद्घाटन सत्रमा  विशिष्ट प्रशासनिक, प्राज्ञिक राजनीतिक व्यक्तित्वले शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ । 

सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रमा ‘गुरुकुल सञ्चालनका समस्या र समाधान’ विषयमा छन्दुराम भण्डारी, गोपीकृष्ण खतिवडाले कार्यपत्र प्रस्तुत गर्ने छन् । ‘गुरुकुल, संस्कृत मावि र विद्यापीठको अन्तःसम्बन्ध’ विषयमा डा. खेमराज खनाल, डा. रमेश घिमिरेले कार्यपत्र प्रस्तु्त गर्नेछन् । 

‘गुरुकुलीय पठनपाठनमा तह र कक्षा निर्धारण’ विषयमा डा. गुरुप्रसाद सुवेदीले कार्यपत्र प्रस्तुत गर्नेछन् । ‘संस्कृत शिक्षणका पद्धतिहरु’ विषयमा डा. रघुनाथ नेपाल, ‘जनजातीय भाषा र संस्कृतको सम्बन्ध’ विषयमा प्रा.डा. गोविन्द तुम्बाहाङ, ‘संस्कृत माविका समस्या र समाधान’ विषयमा गोविन्द निरौला र महेश्वर कोइराला, ‘योग, आयुर्वेद र प्राकृतिक चिकित्साको सामाजिक उपयोगिता’ विषयमा धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबाबु यादवले कार्यपत्र प्रस्तुत गर्ने छन् । 

यस्तै ‘आधुनिक युगमा मूल्यशिक्षाको आवश्यकता’ विषयमा डा. भवानीशङ्कर भट्टराई, ‘कोशी प्रदेशका गुरुकुलहरुको विगत र वर्तमान’ विषयमा डा. सागरमणि सुवेदी र डा. गुरुप्रसाद कोइरालाले कार्यपत्र प्रस्तुत गर्ने छन् । 

‘आधुनिक भाषा विज्ञानमा संस्कृत भाषा चिन्तनको प्रभाव’ विषयमा प्रा.डा. टंकप्रसाद न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नेछन् भने ‘संस्कृत शिक्षणमा प्रविधिको प्रयोग’ विषयमा आईटी प्राध्यापक सञ्जय निरौलाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

कोशी प्रदेशमा अयुर्वेद र प्राकृतिक चिकित्सासम्बद्ध अध्ययन केन्द्रको आवश्यकता, योग आयुर्वेद र प्राकृतिक चिकित्साको उपयोगिता, गुरुकुल र व्यवहारोपयोगी विषयको पठनपाठन, संस्कृत शिक्षालयबीचको समन्वय, पौरस्त्य शिक्षाको अध्ययन अध्यापनको क्षयोन्मुख अवस्थाबारे ध्यानाकर्षण गराउने उद्देश्यले संस्कृत सम्मेलन आयोजना गरिएको पिण्डेश्वर विद्यापीठका प्राध्यापक डा. भट्टराईले जानकारी दिए ।

saskrit sammelan dharan blastkhabar (3)

‘बन्द भएका तथा साधारण माविमा परिणत संस्कृत माविहरुको पुनःसञ्चालनको बाटो पहिल्याउन सम्मेलनले सहयोग पुर्याउने अपेक्षा गरिएको छ,’ ड. भट्टराईले भने, ‘सम्मेलनले विद्यापीठहरुमा संकाय, विषय, तह थप गर्ने विषयमा समेत बहस गर्ने छ ।’

सम्मेलनले कोशी प्रदेशमा आयुर्वेद, प्राकृतिक चिकित्सा विश्वविद्यालय स्थापनार्थ माहोल सिर्जना गर्ने, विद्यालय तहमा संस्कृत शिक्षाप्रति विकर्षण बढिरहेको सन्दर्भमा आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, कम्प्युटर जस्ता विषय थप गरी पुनः आकर्षण बढाउने, गुरुकुलहरुको नियमनकारी निकाय नभएको सन्दर्भमा एकरुपता कायम गर्न प्रयास गर्नेलगायतका उपलब्धी हुने आयोजकको विश्वास छ । 

संस्कृत सम्मेलनको आयोजना पिण्डेश्वर विद्यापीठ, विजयपुर आध्यात्मिक मञ्च, श्री चन्द्र संस्कृत मावि र पिण्डेश्वर संस्कृत माविको आयोजनामा हुनेछ । 

सम्मेलनका अवसरमा २ सय बढी आगन्तुकलाई आवासीय व्यवस्थापन गरिने छ ।

तथ्यांकअनुसार हाल प्रदेशमा ५० बढी गुरुकुल र संस्कृत विद्यालयमा ३ हजार बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । अधिकांश संस्कृत विद्यालय र गुरुकुलहरु मुठीदानका भरमा सञ्चालन भइरहेको तथ्यांक छ ।