‘कवि विमल गुरुङ कृति पुरस्कार’मा सहभागी हुन सर्जकहरुलाई ‘कृति आह्वान’ गरिएको छ ।

वि.सं. २०७९ का लागि प्रदान गरिने कृति पुरस्कारका लागि सर्जकहरुलाई आह्वान गरिएको हो । कवि विमल कृति पुरस्कारको राशि नगद २ लाख रुपैयाँसहित ताम्रपत्र रहेको छ । 

कृति पुरस्कारका लागि स्वदेश र नेपाल बाहिरका नेपालीभाषी लेखक साहित्यकारले धरान–१८ स्थित कवि विमल स्मृति पुस्तकालयमा चारप्रति आफ्नो कृति उपलव्ध गराउनु पर्ने छ । 

प्राप्त कृतिका ‘सर्ट लिस्ट’ पछि निकालिने छ । विमल कृति पुरस्कारमा सहभागी हुन ०७९ सालभित्र प्रकाशित भएका नेपाली भाषाका कृति हुनुपर्ने पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए । 

कवि लेखक साहित्यकारहरुले विमल कृति पुरस्कारमा सहभागी हुन आगामी असोज अन्तिम सातासम्ममा आफ्नो कृति पुस्तकालयमा दर्ता गर्नुपर्ने छ ।

धरान–१८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले जुनसुकै विधाका कृति मध्ये श्रेष्ठ एक कृतिलाई विसं २०७९ सालको विमल कृति पुरस्कार प्रदान गर्ने छ । यसै वर्षको कात्तिक १९ गते हुने ‘कवि विमल गुरुङ स्मृति राष्ट्रिय युवा कविता महोत्वस’को अवसरमा प्रदान गर्ने पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए । 

संरक्षक अध्यक्ष गुरुङकाअनुसार गत वर्षदेखि पुस्तकालयले कवि विमल कृति पुरस्कार प्रदान गर्न थालेको हो । 

कवि तथा संचारकर्मी समेत रहेका विमल गुरुङ ०२८ साल कात्तिक १९ गते जन्मी ०४८ वैशाख २४ गते दिवंगत भएका थिए । 

एक्लो छोराको स्मृतिमा पूर्व व्रिटिश गोर्खा सैनिक बाबु पूर्णबहादुर, आमा सरस्वती र बहिनी शान्तिले धरान–१८ बुद्धचोकमा कवि विमल गुरुङ स्मृति पुस्तकालय स्थापना गरेका हुन् । 

गुरुङ परिवारले पुस्तकालायमार्फत् कृति पुरस्कारका लागि एक करोड रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । 

०७८ को विमल कृति पुरस्कार धरान घर भई हाल बेलायतमा रहँदै आएका पूर्व गोर्खा सैनिक कवि नरेश काङ्माङको युद्ध साहित्य सिद्धान्तमा आधारित कविता कृति ‘तेप्लायु’ लाई प्रदान गरिएको थियो ।