विद्यालयले एक शैक्षिक शत्रमा चार वटा परीक्षा संचालन गर्नुपर्ने,
प्रत्येक तीन महिनाको अन्तरमा परीक्षा संचालन गरी नतिजा सार्वजनिक गर्नुपर्ने,
विद्यालयले अभिभावको विवरण राखी विद्यार्थीको कृयाकलाप निगरानी गर्नुपर्ने,
शिक्षकले अनिर्वाय गृहकार्य दिनुपर्ने, चेकजाँच गर्नुपर्ने र समयमा विद्यालय हाजिर हुनुपर्ने ।

पाँचथर कुम्मायक–५ को गुह्येश्वरी आधारभूत विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न  विद्यालय प्रशासन र अभिभावकबीच आठबुँदे प्रतिबद्धता गरेका छन् । 

विद्यालयमा बसेको अभिभावक भेलाले शिक्षाको गुणस्तर सुधार गर्न भन्दै अभिभावक र विद्यालय प्रशासन बीच आठ बुँदे प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन् । 

प्रतिवद्धता पत्रमा विद्यालयले एक शैक्षिक शत्रमा चार वटा परीक्षा संचालन गर्नुपर्ने छ । प्रत्येक तीन महिनाको अन्तरमा परिक्षा संचालन गरी नतिजा सार्वजनिक गर्दा अभिभावक भेला गरी विद्यार्थीको कमिकमजोरी बारे अभिभावकलाई जानकारी दिनुपर्ने उल्लेख गरिएको छ । 

विद्यालयले अभिभावको विवरण राखी विद्यार्थीको कृयाकलाप र विद्यालय हाजिर भए वा नभएको जानकारी दिनुपर्नेछ । शिक्षकले अनिर्वाय गृहकार्य दिने, चेकजाँच गर्ने, समयमा विद्यालय हाजिर हुने लगायतका सर्त बुँदामा समावेश छन् ।

अभिभावकले पालना गर्नुपर्ने प्रतिवद्धतामा स्कुल पोषाक, जुत्ता शैक्षिक सामग्रीसहित बालबालिकालाई नियमित विद्यालय पठाउनु पर्नेछ । विद्यालयको शैक्षिक अवस्थाबारे नियमित अनुगमन गरी पृष्ठपोषण प्रदान गर्नुपर्ने उल्लेख छ । विद्यालय र अभिभावकबीच आठ बुँदे शर्त कार्यान्वय गर्ने सहमति भएको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर तामाङले जानकारी दिए । 

विद्यालयमा बर्सेनि विद्यार्थीको संख्या घट्दै गएको भन्दै शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थीको संख्या वृद्धि गर्न दुबै पक्षले प्रतिबद्धता पालना गर्नुपर्ने छ । 

कुम्मायक गाउँपालिकामा ५ माध्यमिक र ३२ आधारभूत गरी ३७ सामुदायिक विद्यालय छन् । ३२ आधारभूत विद्यालयमा मात्रै ३ हजार ७ सय १७ विद्यार्थी अध्ययनरत छन् । ५ माध्यमिक विद्यालयमा ७ सय ६३ जना विद्यार्थी अध्ययनरत रहेको कुम्मायक गाउँपालिकाले जनाएको छ ।