धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले पदभार ग्रहण गरेको आज एक वर्ष पूरा हुँदैछ । यो एक वर्षमा उनले गरेका कामहरू सामाजिक सञ्जालमा यततत्र भेटिन्छन् । उनले एक वर्षको समयमा खोलामा गिट्टी कुट्ने, ढुङ्गा बोक्ने, बिरुवा रोप्ने, पाइप बोक्नेजस्ता काममा प्राथमिकता दिए । उनको आह्वानमा हजारौं मान्छेले यस्ता काममा श्रमदान गरेका छन् । देश विदेशमा रहेका हजारौं मान्छेले नगद र जिन्सी सहयोग गरेका छन् । यसरी उनको नाममा करोडौं सहयोग प्राप्त भएको छ । धरानवासीलाई पानी खुवाउन भनेर उनले चलाएको अभियान सकारात्मक हो तर, धरानका अन्य समस्यालाई उनले एक वर्षसम्म प्राथमिकता दिन सकेनन् । स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता आधारभूत विषयमा उनले काम गर्न सकेका छैनन् । यसको असर दीर्घकालीन रूपमा पर्ने निश्चित छ । खानेपानी धरानको ठूलो समस्या हो तर, पानीबाहेक धरानमा अरू समस्या नै छैनन् त ?

गतवर्षको जेठ १० मा उनले पदभार ग्रहण गर्दै स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवम् व्यवस्थित बनाउन राजश्वसम्बन्धी कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका थिए । तर, स्थानीय कर प्रणाली वैज्ञानिक बन्यो वा बनेन भन्ने विषयमा अहिले चर्चा हुन छाडेको छ । स्थानीय राजस्व अघिल्लो वर्ष जति पनि सङ्कलन हुन सकेको छैन । पहिलो निर्णय नै यसरी अलपत्र पर्नुले नगरप्रमुखको दूरदृष्टि र कार्य क्षमतामाथि प्रश्न उठेको छ । एक वर्षमा धरानको स्थानीय कर प्रणाली वैज्ञानिक बन्यो ? यसको जवाफ उनले दिनु आवश्यक छ । बन्यो भने के प्रगति भयो र बनेन भने किन बन्न सकेन ? धरानवासीलाई स्पष्ट पार्नु जरुरी छ । विकासको आधारभूत तŒव मानिने शिक्षामा नगरप्रमुखको प्राथमिकता देखिंँदैन । एक वर्षपछि बल्ल धरानका शिक्षा समन्वय समिति गठन भएको छ । धरानको शिक्षासम्बन्धी नीति निर्माण गर्ने यस्तो महŒवपूर्ण समितिमा विद्वता र क्षमताका आधारमा भन्दा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गरिँदा विवाद पनि उत्पन्न भएको छ । धरानका सामुदायिक विद्यालयहरू अस्तव्यस्त छन्, निजी विद्यालयहरूको मनोमानी उस्तै छ । स्थानीय सरकारले अभिभावक र विद्यार्थीको हितमा काम गर्नुपर्नेमा उपमहानगरले एक वर्षपछि भर्खर मात्र समिति गठन गर्दैछ । यी त उदाहरण भए, सहकारी, स्वास्थ्यलगायतका धेरै क्षेत्रमा भएका समस्यालाई नगरप्रमुखले नजरअन्दाज गरिरहेका छन् । यसले धरानको भविष्यलाई नकारात्मक असर गर्ने निश्चित छ ।

नगरप्रमुख राई सामाजिक सञ्जालमार्फत् देशविदेशका नेपालीमाझ जति प्रशंसा कमाइरहेका छन्, स्थानीय राजनीतिक दलका नेता, पेशागत संस्थाहरूलाई जथाभावी बोलेर आलोचित छन् । एक वर्षमा उनी विभिन्न समुदाय र व्यक्तिलाई गाली गरेर पनि विवादमा परे । आफै मातहतका वडाध्यक्षहरूलाई तथानाम गाली गरेर सामाजिक सञ्जालमा चर्चा कमाएका उनलाई स्टन्डमा रमाउने नगरप्रमुखका रूपमा देशव्यापीरूपमा चिनिन थालिएको छ । अझै चार वर्ष कार्यकाल बाँकी नै रहेकाले नगरप्रमुख राईले सस्तो लोकप्रियताका लागि भन्दा धरानको भविष्य कसरी राम्रो बनाउने भन्ने सोचेर काम, कारबाही अघि बढाउनु आवश्यक छ । लोकप्रियताका लागि गरिएका काम दीर्घकालीन नहुन सक्छन् । त्यसैले चर्चामा रमाउनुभन्दा सबैलाई समेटेर धरानको दीर्घकालीन हितका लागि कार्यक्रमहरू ल्याउनु जरुरी छ । नगरप्रमुखले आफ्नो एक वर्षको स्वमूल्याङ्कन गरेर अघि बढ्नु जरुरी छ । आगामी आर्थिक वर्षको बजेटमा धरानको दीर्घकालीन विकासको झलक पाउन सकियोस् ।