बेलबारी । रेलमार्गमा परेका जग्गाको तत्कालै मुआब्जा उपलब्ध हुनुपर्ने नभए सम्पूर्ण जग्गा फुकुवा गरिनु पर्ने भन्दै रेलमार्ग प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समिति कोशी प्रदेशले ज्ञापन पत्र बझाएको छ ।
हालै सरकारले पूर्व पश्चिम रेलमार्ग अन्तर्गत काँकडभिट्टा इनरुवा अन्तर्गत लामो समय देखि रोक्का रहेको जग्गा रेलमार्गले ओगट्ने बाहेक डिमरकेशन बाहिरको जग्गा फुकुवा गर्ने निर्णय गरेको हुँदा रेलमार्ग प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समितिले सरकारले गरेको निर्णय सच्याउन विज्ञप्ति मार्फत माग गरेको छ ।
मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सांसद डा।सुनिल कुमार शर्मालाई समितिले ज्ञापन पत्र हस्तान्तरण गरेको हो । विगत ३ वर्षदेखि पटक पटक वडा,नगर,प्रदेश र केन्द्र समेतमा ज्ञापन पत्र बुझाउने काम गरियो तर हालसम्म कुनै सुनुवाइ भएन समितिका बेलबारी अध्यक्ष चन्द्र लिम्बु बत्ताउँछन् ।
मुआब्जाको लागी बजेट समेत नछुटाएर ३ वर्षदेखि जनताको जग्गा रोक्का गरी बन्धक बनाई राखेको हुनाले वित्तीय कारोबारमा परेको समस्या सदनमा कुरा उठाइदिन लिम्बुले सांसद शर्मालाई अनुरोध गरेको बताए ।
रेलमार्ग मुआब्जा उपलब्ध साथै जग्गा फुकुवा सम्बन्धमा सदनमा कुरा उठाउँदै प्रभावित क्षेत्रका जनताको समस्या दिगो रूपमा समाधानका लागी सरकार सँग पहल गर्ने सांसद शर्माले बताए । रेलमार्ग अन्तर्गत मोरङको बेलबारी ९ मा रहेको नलबारी बजार पूर्ण रूपमा प्रभावित देखिन्छ । नलबारी चोकका करिब ५० घर रेलमार्गमा परेका छन् ।
नलबारी चोकका आफ्नै घरमा वर्षौँदेखि व्यवसाय गर्दै आएका चक्र भण्डारी ३ वर्षदेखि जग्गा रोक्का भएको कारण बैङ्कमा धितो समेत राख्न नपाएर समस्या भएको बताए । भण्डारी भन्छन् “ तुरुन्त मुआब्जा चाहियो नभए जग्गा फुकुवा गरिदिनुपर्यो ।” पूर्व पश्चिम रेलमार्ग अन्तर्गत काँकडभिट्टा इनरुवा रेलमार्ग १ सय ६ किलोमिटर रहेको छ ।
































