देउराली ।  संखुवासभाको भोटखोलामा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । 

दुर्घटनाका घाइते भविन गुरुङको मृत्यु भएको भोटखोला गाउँपालिका ४ का वडाध्यक्ष विकास तामाङले बताए । तामाङका अनुसार गुरुङ  पाइलटलाई ल्यान्डिङ स्थान देखाउन चढेका थिए ।  गोलाबाट माथिल्लो अरुण हाइड्रो पावरका लागि सामान लाने क्रममा   सिप्रुङमा ल्यान्ड गर्ने क्रममा हेलिकप्टरको पङ्खा ठोक्किएर दुर्घटना भएको वडाध्यक्ष तामाङले बताए ।


उनले भने " ४ नम्बर वडा बाट २ नम्बर वडाको ड्याम साइड  लगिसकेपछि पुनः ४ नम्बर वडा तर्फ रहेका ड्रिल एरियामा  सामान खुल्ने क्रममा पङ्खा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । "


करिब ३० मिटरको उचाइमा रहेको हेलिकप्टर ठोक्किएपछि अनियन्त्रित भएपछि  अन्य  २ जना  कोपाइलट छिरिङ भोटे, सहयोगी विक्रम नेपाल हेलिकप्टरबाट हाम्फालेर बाच्न सफल भएको वडाध्यक्ष तामाङले बताए । भोटे र नेपाल सामान्य घाइते भएकाले प्राथमिक उपचारगरिएको  उनले बताए । 

गम्भीर घाइते पाइलट  सुरेन्द्र पौडेललाई उपचारकालागि  हेलिकप्टरबाटै काठमाडौँ लगिएको छ ।