देउराली । संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । केही बेरअघि हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र गोदारले बताए । गोदारका अनुसार हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
शुक्रबार दिउँसो १ बजे दुर्घटनामा परेको हेलिकप्टरमा पाइलटसहित ४ जना सवार थिए । दुर्घटनामा परी पाइलट सुरेन्द्र पौडेल र भविन गुरुङ गम्भीर घाइते भएका छन् भने, अन्य २ जना छिरिङ भोटे र विक्रम नेपाल सामान्य घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।
उद्धारका लागि केही बेरअघि खाँदबारीबाट सैनिक हेलिकप्टर पठाइएकोमा घाइतेहरूको जिल्ला अस्पालात खाँदबारी ल्याइँदै गरेको गोदारले बताएका छन् । हेलिकप्टरले माटो,ढुङ्गा तथा कङ्क्रिटलगायतका सामान लिएर आएको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए ।