विराटनगर । विकासका लागि सडकको पहुँच सबैभन्दा अनिवार्य सर्त हो । त्यसैले सडक बन्नु भनेको अवश्य पनि नराम्रो होइन । तर, निर्माण सुरु भएको वर्षौं भइसक्दा पनि मोरङको तराई मधेसलाई यातायातमार्फत् पूर्व–पश्चिम जोड्ने लक्ष्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको काम सुस्त हुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।

मोरङ जिल्लाका ५ वटा स्थानीय तहका सर्वसाधारणका लागि वर्षौंदेखि हुलाकी सडक सास्ती बनेर उपस्थित छ । झापासित सिमाना जोडिएको मोरङको रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रङ्गेली नगरपालिका, धनपालथान र कटहरी गाउँपालिका क्षेत्रका सर्वसाधारण हिउँदमा सडकको धुलो र बर्खामा हिलोसँग पौंठेजोरी खेलेर दिन कटाउन बाध्य छन् । राष्ट्रिय गौरवको आयोजनामा पर्ने यो हुलाकी राजमार्गको काम सुस्त छ ।


निर्माण सुरु भएको चार वर्ष भइसक्दा पनि पूरा हुने छाँटकाँट छैन । मोरङको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर सडक–खण्डमा ८० प्रतिशत खर्च भइसक्दा भौतिक प्रगति त्यसको आधा मात्रै छ । निर्माण व्यवसायीको हेलचेक्र्याइँले सडक अलपत्र पर्दा सर्वसाधारणले अनेकौँ सास्ती भोग्नुपरेको छ । सडक कहिले निर्माण सम्पन्न हुने हो टुङ्गो छैन । सङ्घ, प्रदेश र स्थानीय सरकारले यो विषयमा खासै चासो देखाएको छैन । नागरिक दबाव परे अनुगमन गर्ने नत्र चुपचाप बस्ने प्रवृत्तिले निर्माण सुरु भएको लामो समयसम्म सडक भद्रगोल बनेको हो ।

सडकछेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था नभएको मोरङ कटहरी गाउँपालिका–२ का स्थानीय रत्न मण्डलले बताए । समयमै सडक नबन्दा खानामा धुलो खान बाध्य भएको उनले सुनाए । ‘अहिले घर धुलोले छपक्कै छोपेको अवस्था छ’ उनले भने, ‘अब पानी पर्न थालेपछि हिलोले सडक हिँडिसक्नु हुँदैन । गाडी, बाइक, साइकल केही चलाउनै नमिल्ने अवस्था हुन्छ । अनि सडक हाम्रा लागि सुविधा भयो कि सास्ती ?’ एक महिनायता सडकको काम ठप्प पारेका छन् । विना जानकारी सडक निर्माण ठप्प पारेर बेपत्ता उनीहरू हुलाकी सडक आयोजनाको समेत सम्पर्कमा छैनन् । बनाउँदा बनाउँदैको सडक अलपत्र पारेर सम्पर्कविहीन बनेका ठेकेदारहरूको लापरबाही र उनीहरूका अघि राज्य संयन्त्रको कमजोरीले सर्वसाधारण वर्षौंदेखि समस्या भोग्न विवश बनेका छन् ।

सर्वसाधारणले भोगिरहेको यही निरन्तरको सास्तीले मोरङका बहुसङ्ख्यक जनप्रतिनिधिलाई पनि तनाव दिएको छ । निर्माण व्यवसायीको हेल्चेक्र्याइँले सडक अलपत्र पर्दा सर्वसाधारणले अनेकौँ सास्ती भोग्नुपरेको छ । मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर खण्डको भौतिक प्रगति सुस्त हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । तीन अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र छ ।

२०७६ सालमा तीन वर्षभित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० साल कात्तिकसम्म पु¥याइएको थियो । तर, अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ । सडक निर्माण पूरा नहुँदा सर्वसाधारणले भने कष्ट भोग्नुपरेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्नसमेत समस्या हुने गरेको छ । ठेकेदार कम्पनी गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको कर्सिया सडक–खण्ड हुँदै विराटनगर केशलिया सडकको काम भने ३० प्रतिशत मात्र भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक हुलाकी सडक अन्तर्गत मोरङमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।