देउराली ।  धरानका विभिन्न वडा कार्यालयसहित  उपमहानगरको मुख्य कार्यालयमा कोशी प्रदेश नामकरणविरुद्ध सङ्घर्षरत पहिचानवादी आन्दोलनकारीहरूले आज तालाबन्दी गरेका छन् । 

आन्दोलनकारीहरूले  उपमहानगरपालिकाको मुख्य गेटमा कालो झण्डा राखेर नाराबाजी गर्नुका साथै कोशी प्रदेश लेखिएको लेटर प्याड आगजनी  समेत गरेका छन् ।  उनीहरूले धरानका ५, १५, १२ नम्बरको वडा कार्यालयमा समेत कालो झण्डा राखेर तालाबन्दी  गरेका हुन् । 

प्रदेश १ पुनः नामाङ्कन संयुक्त संर्घष समितिले आयोजना गरेको  गते चैत ५ गते आन्दोलनको क्रममा घाइते भएका  लिम्बुवान भोलेन्टियर केन्द्रीय सह–कमाण्डर पदम लिम्बूको मृत्यु भएपछि आन्दोलनका थप सशक्त बनेको छ । 

आन्दोलनकारीहरूले लिम्बूलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने माग राख्दै,  प्रदेशको पुनः नामकरण गरेर आफ्ना माग पूरा नभएसम्म मृतकको शव जिम्मा नलिने बताउँदै आएका छन् । लाठीले टाउकोमा लागेर घाइते भएका मृतक लिम्बूलाई  ८ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  पुर्‍याइको थियो  ।  शुक्रबार बिहान अढाई बजे  लिम्बूको  मृत्यु भएको  थियो ।

'कोशी'  नामकरणपछि प्रदेशसभाका सदस्यलाई बहिष्कार गर्दै आएका आन्दोलनरत पक्षले यस अघि नै  गाउँपालिका र वडाहरूमा तालाबन्दी गर्ने, कालो झण्डा राख्नेलगायत आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गरेको थियो ।