विराटनगर । कोशी प्रदेशको नाम खारेजको माग गर्दै निरन्तर आन्दोलनरत प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि विराटनगरमा निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ । 

समितिको बुधबार बसेको जुम बैठकले चलिरहेको एसइइ परीक्षालाई मध्यनजर गर्दै त्यसअगाडि कुनै पनि सार्वजनिक प्रदर्शनका कार्यक्रम नराख्ने निर्णय गरेको हो ।

‘२०७९ चैत १७ देखि २५ गतेसम्म एसईई परीक्षालाई ध्यानमा राखि तालाबन्दी र ठूलो विरोध जुलुस र सभाहरू स्थगीत गर्ने । तर सो समयमा नियमित आन्दोलनका कार्यक्रमहरु जारी राख्ने निर्णय भएको छ,’ संघर्ष समितिका नेता अर्जुन जम्नेली राईले भने ।

बैठकले सरकारले सहिद घोषणा र क्षतिपूर्तिको सुनिश्चित नगरेसम्म लाजेहाङको शव पोष्मार्टम गर्न नदिने, उनलाई सहिद घोषणा गर्न सरकारलाई दवाव सिर्जना जारी राख्ने निर्णय पनि गरेको छ । बैठकले आगामी चैत २५ गतेपछि भने निर्णायक आन्दोलन गर्ने निर्णय पनि गरेको छ । ‘समय र परिस्थिति विश्लेषण गरेर चैत २५ गते पछि विराटनगर केन्द्रीत निर्णायक आन्दोलनमा होमिने निर्णय गरेका छौं,’ राईले भने ।

चैत २५ अगाडि भने मानवअधिकार आयोग, संयुक्त राष्ट्र संघ, र विदेशी नियोगहरुमा ध्यानाकर्षण गराउने, विभिन्न साहित्यीक कार्यक्रम गर्ने, गाउँ र जिल्ला जागरणका कार्यक्रम गर्ने, सामान्य खालका सांसद अवरोध र बहिष्कार जारी राख्ने र साझा नामको बहस समेत प्रारम्भ गर्ने निर्णय गरेको उनको भनाइ छ । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै पहिचानवादी संघसंगठनहरु आन्दोलनमा छन् ।