विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ ।

विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा एक दर्जन  घाइते भएका छन् । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको हो ।

 झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएको मोरङ प्रहरीका प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए ।  यता आन्दोलनकारी तर्फ पनि ९ जना घाइते भएको बताइएको छ । आन्दोलनकारीतर्फ घाइते हुनेहरूमा अशोक राई, सरोज लिम्बु, ज्ञानबहादुर राई, शिव आङ्दाम्बे, उदय लिम्बु, सुरज राई, एनके दर्नाल, विशाल राई र पदमलाल लिम्बु रहेका छन् ।

झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । झडपपछि आन्दोलनकारी फर्किएका छन् भने स्थिति सामान्यतर्फ फर्किएको छ ।

युएनडिपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटेलमा राखिएको थियो । त्यहाँ प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटेल बिगमा राखिएको छ । सांसदहरूलाई दबाब दिन आन्दोलनकारी घेराउमा पुगेका थिए । 

पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् । सांसदहरू सहभागी हुने कार्यक्रम र होटेल घेराउ गर्न समितिका कार्यकर्ताहरू जम्मा हुने भएपछि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।