बिर्तामोड । प्रदेशको पुनः नामाङकन गर्नुपर्ने माग गर्दै आएका पहिचानवादी दलका कार्यकर्ताले मंगलबार झापाको दुईवटा स्थानीय तहमा तालाबन्दी गरेका छन् ।

कोशी प्रदेशको नाम ‘किराँत–लिम्बुवान’ घोषणा गर्नुपर्ने भन्दै केही समयदेखि यहाँ लिम्बुवानसम्बद्ध राजनीतिक दल आन्दोलित छन् । आन्दोलनकै क्रममा बिराटनगरमा एकजनाको मृत्यु भइसकेको छ । आन्दोलित पहचिानवादीले दमक नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा तालाबन्दी गरेका हुन् । उनीहरुले ताला लगाएको कारण लगभग १ घण्टा सेवा अवरुद्ध बनेको स्थानीयले बताएका छन् ।

झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार दमक नगरपालिका, दमक नगरपालिकाका २ वटा वडा, बुद्धशान्ति गाउँपालिका र बुद्धशान्तिको एउटा वडामा पहिचानवादीले तालाबन्दी गरेका हुन् । तालाबन्दी गरेको एक घण्टापछि प्रहरीले ताला तोडेर सेवा सुचारु गराएको बताइएको छ ।