सुनसरी । स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक आरोपित अनुसन्धानकै क्रममा दुई दिनमै धरौटीमा छाडिएका छन् ।

स्रोत नखुलेको झण्डै सवा ११ लाख रुपैयाँसहित सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले शुक्रबार पक्राउ गरेका एक आरोपितलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धानकै क्रममा आइतबार धरौटीमा छाडेको हो । राजस्व अनुसन्धानका अधिकारीले अनुसन्धानकै क्रममा छाडेको पनि स्वीकार गर्छन् । कार्यालयका प्रमुख राजस्व अनुसन्धान अधिकृत सुरेश आचार्यले अनुसन्धान भइरहे पनि आवश्यक परेको अवस्थामा पुनः हाजिर गराउने सर्तमा धरौटीमा छाडिएको बताए । उनले नेपाली नागरिक भएको र नेपाली रुपैयाँसहित नै पक्राउ परेकाले तत्काल बिगोबमोजिमको धरौटी लिएर छाडिएको दाबी गरे ।

सशस्त्र प्रहरीले शुक्रबार चेकजाँचको क्रममा कोसी गाउँपालिका–६ श्रीपुरका अन्दाजी २२ वर्षीय आनन्दकुमार यादवलाई पक्राउ गरेको थियो । उनको साथबाट सशस्त्र प्रहरीले ११ लाख २३ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो । स्रोत नखुलेको रकम खुट्टा र कम्मरमा लुकाएर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको सशस्त्र प्रहरीले जानकारी दिएको थियो । सशस्त्रले नियन्त्रणमा लिएका यादवलाई बरामद रकमसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो ।

दुई दिनमै धरौटीमा छाडेपछि स्थानीयले अनेकन आशङ्का गरेका छन् । किनकि यादव ७ महिनाअघि पनि भारतीय रुपैयाँसहित नेपाल प्रवेश गर्दै गर्दा उनलाई जनपद प्रहरीले पक्राउ गर्न खोज्दा उम्किन सफल भएको स्थानीय बताउँछन् । यी युवालाई स्थानीय व्यापारी जयप्रकाश साहले संरक्षण गर्दै आएको र उनैको कर्मचारी रहेको स्थानीयको भनाइ छ । ती युवा भागेपछि त्यही घटनामा संलग्न भएको आशङ्कामा व्यापारी साहलाई जिल्ला प्रहरी कार्यालय लगिएको थियो । तर, प्रमाण नपुगेपछि भोलिपल्टै छाडेको प्रहरी अधिकारी बताउँछन् ।

यादवको साथबाट सशस्त्र प्रहरीले शरीर खानतलासी गर्दा एक हजार रुपैयाँका ६ सय ८२ थान, ५ सय रुपैयाँका ७ सय ३६ थान, एक सय रुपैयाँका ६ सय ३५ थान र ५० रुपैयाँका २ सय थान बरामद गरेको थियो । यादव सामान्य घरपरिवारको भएकाले उनको साथबाट त्यतिका रकम हुनु शङ्कास्पद रहेको नाम नछाप्ने सर्तमा एक स्थानीयले बताए । स्थानीय भने जयप्रकाश साहकै रकम भएको बताउँछन् ।

साह कोसी गाउँपालिका–८ मा गणेश ट्रेडर्स नामक पसल सञ्चालन गर्छन् । यता आरोपित व्यवसायी जयप्रकाश साहले आफू ठेकेदार पनि भएकाले भारतबाट साथीभाइसँग सापटी लिएर मजदुरहरूलाई दिन भनी आफ्नो कर्मचारीले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताए । आफूले कुनै गैरकानूनी गतिविधि नगरेको दाबी गर्दै उनले आफूलाई स्थानीय केही व्यक्तिले जबर्जस्ती फसाउन खोजेको दाबी गरे । सशस्त्र प्रहरीले पनि तत्कालीन समयमा रकमको स्रोत खुल्न नसक्नुले हुन्डीको रकम भएको हुनसक्ने अनुमान लगाएको थियो ।

सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी लकेश तुम्बाहाम्फेले व्यावहारिक हिसाबले हुन्डीलगायत गैरकानूनी गतिविधि गर्न त्यसरी कारोबार गरिएको भनिए  पनि आफूहरूलाई अनुसन्धान गर्ने अधिकार नभएकाले ठ्याक्कै यही नै प्रयोजनका लागि भन्न सकिने अवस्था नभएको बताए । ‘हामीले त्यसरी स्रोत नखुलेको रकमसहित मान्छेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायलाई बुझाउने काम गर्छौं, त्यसैले त्यसबारे विस्तृत कुरा भन्न सकिने अवस्था हुँदैन अनुसन्धानबाट बाँकी कुरा खुल्ने हो’–उनले भने ।

यता अनुसन्धान अधिकारी राजस्व अनुसन्धानका प्रमुख आचार्यले पनि हुन्डीको रकम हो –होइन भनेर ठ्याक्कै भन्न सकेनन् । उनले भने, ‘ठ्याक्कै यही कारण भन्न नसकिए तापनि खुला सीमा, वित्तीय प्रणालीमा देखिएको समस्याका कारण हुन्डी र गैर हुन्डी कारोबार हुने गरेको छ । बैङ्किङ च्यानल छल्न कुनै व्यापारी व्यवसायीले क्यारिङ गराएर पैसा यताउता लाने, बैङ्किङ च्यानलबाट कारोबार नगर्ने देखिएको छ ।’