भद्रपुर ।  सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान कटौती गरेको विरोधमा झापाका किसानहरूले बोरा ओढेर प्रदर्शन गरेका छन् । 

हातमा राष्ट्रिय झण्डा बोकेर शुक्रबार बिर्तामोडका सडकमा  उत्रिएका उनीहरूले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान कटौती गर्ने निर्णय फिर्ता गर, किसानलाई समयमै मलखाद उपलब्ध गर, किसानको आँशुमा पौडी नखेल, विना ब्याज, विना धितो कृषि ऋण उपलब्ध गरा लगायतका नारा लगाउँदै प्ले–कार्ड प्रदर्शन गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी झापाको आह्वानमा भएको प्रदर्शनमा झापाका विभिन्न पालिकाका किसानहरूले सहभागिता जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति उमेश खरेलले जानकारी दिए ।

प्रदर्शनपछि बिर्तामोडको मुक्तिचोकमा कोणसभा भएको थियो । किसानलाई पर्न गएको मर्काको विषयमा कहीँ कतै आवाज नउठाएकोले झापाबाट राष्ट्रिय झण्डाका साथ विरोध र आन्दोलनको थालनी गरेको बताए ।

कोणसभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू शम्भु सुस्केरा ढकाल, प्रकाश पाठक र सुरेशकुमार पोखरेललगायतले राष्ट्रलाई नै पाल्ने भूमिका निर्वाह गरेका किसानहरूलाई राज्यले आर्थिक विभेद र दमन गरेको भन्दै अनुदान कटौती तत्काल फिर्ता गरी किसानहरूलाई थप राहतका कार्यक्रमहरू ल्याउन माग गरेका थिए ।

उनीहरूले कृिष बिमा निःशुल्क गर्न, ५० प्रतिशतभन्दा बढी अनुदान दिन, कृषि उत्पादन बढाउन र कृिष उद्योग स्थापना गर्न माग गरेका थिए । गत फागुन २९ गते कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको बैठकले अनुदान घटाउने निर्णय गरेको थियो ।

रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको छ । कृषि मन्त्रालयले यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिनेसमेत बताएको छ ।

सरकारले मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढेको छ । अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो २५, डिएपी प्रतिकिलो ५० र पोटास प्रतिकिलो ४० मा बिक्री वितरण हुनेछ । यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो १४, डिएपी प्रतिकिलो ४३ र पोटास प्रतिकिलो ३१ मा बिक्री वितरण भइरहेको थियो ।

साबिकभन्दा अब युरिया प्रतिकिलो ११, डिएपी प्रतिकिलो सात र पोटास प्रतिकिलो नौ रुपैयाँ महँगो पर्ने भएको छ ।