बिर्तामोड । प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलित दलहरूले आइतबार कोशी प्रदेशको राजधानी विराटनगरमा विरोध प्रदर्शन गर्ने भएका छन् ।

फागुन अन्तिम साता एकीकृत हुने सहमति गरेका पहिचान पक्षधर दलहरूले राजधानी विराटनगरमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने तयारी गरेका हुन् । 

आन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका लिम्बुवान नेता सञ्जुहाङ पालुङ्वाले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी विरोध प्रदर्शन गर्ने तयारी तीव्र बनाइएको बताए । उनले सुरु भएको आन्दोलन निष्कर्षमा पुर्याएरै छोड्ने दाबी गरे ।

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल शान्ति मन्त्री भएको समयमा भएको सम्झौता कार्यान्वयन गर्न पालुङ्वाले अनुरोध गरे । प्रदेशको नाम ‘किरात–लिम्बुवान’ बनाउन दबावस्वरूप लिम्बुवानले आन्दोलन गरेको हो । उनले विरोधसभामा व्यापक सहभागिता रहने समेत दाबी गरेका छन् ।