धरान । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन नेपाल नम्बर एक गल्फर धरानका शुक्रबहादुर राई अर्को रेकर्ड राख्ने तरखरमा छन् ।

उनी तेस्रो दिन पनि शीर्षस्थानमा रहेका छन् । धरानमा हालै सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनमा उनले हालसम्मकै सबैभन्दा कम अन्डर खेल्दै आफ्नै रेकर्ड तोडेका थिए । सेन्ट्रल ओपनमा उनले तेस्रो दिनको खेल सकाउँदा २१ अन्डर १ सय ९५ कार्ड बनाएका छन् । पार ७२ को कोर्षमा उनले तेस्रो दिन ३ अन्डर ६९ खेलेका छन् ।

दोस्रो स्थानमा भूवन नगरकोटीले पछ्याइरहेका छन् । नगरकोटीलाई ६ स्ट्रोकले पछि पार्दै उपाधि रक्षा गर्ने सम्भावनालाई पनि जीवित राखेका छन् भने सेन्ट्रल ओपनमा पनि अर्को रेकर्ड राख्ने तरखरमा छन् । इभन पार ७२ सहित समग्रमा १५ अन्डर २ सय १ सहित भुवन दोस्रो तथा युवा एमेच्योर खेलाडी सद्भाव आचार्यले ८ अन्डर ६४ को उत्कृष्ट स्कोरमा समग्रमा ११ अन्डर २ सय ५ को स्कोरमा तेस्रो स्थानमा छन् । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवाश तामाङ ६ अन्डर ६६ खेल्दै समग्रमा ७ अन्डर २ सय ९ मा चौथो स्थानमा छन् ।

यसैगरी जयराम श्रेष्ठले ३ अन्डर ६९ मा दिनको खेल सकाउँदै समग्रमा ४ अन्डर २ सय १२ को नतिजामा पाँचौं स्थानमा रहे । ३ अन्डर ६९ खेलेका शिवराम पौडेल समग्रमा १ अन्डर २ सय १५ मा छैठौं स्थानमा छन् ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा जारी प्रतियोगितामा समग्रमा इभन पार २ सय १६ को स्कोरमा सञ्जय लामा र निरज तामाङले संयुक्तरूपमा सातौं स्थानमा छन् । टङ्कबहादुर कार्की समग्रमा २ ओभर २ सय १८ सहित नवौं स्थानमा र कुल ४ ओभर २ सय २० सहित दिनेश प्रजापति क्रमशः नवौं र दशौं स्थानमा छन् । दुवैले बिहीबार इभन पार ७२ मा खेल सकाए ।

अघिल्लो दिन ११ अन्डर ६१ को नयाँ कोर्ष रेकर्ड कायम गरेका शुक्रले बिहीबार फ्रन्ट नाइन २ अन्डर ३४ मा सकाए । उनले तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे । यसपछि ११ औं होलमा बोगी खेपे पनि १० औं र १२ औं होलमा एक–एक सट बचाउँदै ब्याक नाइन १ अन्डर ३५ मा पूरा गरे । पहिलो दिन ७ अन्डर, दोस्रो दिन ११ अन्डर र तेस्रो दिन ३ अन्डरको लोभलाग्दो नतिजामा शुक्रले उपाधि रक्षा गर्ने सम्भावनालाई बलियो बनाए ।

अन्तिम १८ होलको खेल बाँकी छँदा उनले ६ स्ट्रोकको स्पष्ट अग्रता बनाइसकेका छन् । पहिलो र दोस्रो दिन अन्डर पार खेलेका भूवनले बिहीबार फ्रन्ट र ब्याक नाइन दुवैमा इभन पार ३६ खेले । तेस्रो होलमा एक सट बचाए पनि चार पारको चौथो होलमा डबल बोगी खेपे । सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन सकाए । यसपछि १० औं र १४ औं होलमा बोगीको सामना गरे भने ११ औं र १७ औं होलमा बर्डी खेले ।

कुल ८ लाख नगद पुरस्कार राशिको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रोफेसनलतर्फको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् ।