विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–१ का १४ वर्षीय विशाल माझीको हत्या गरेको आरोपमा दम्पती पक्राउ परेका छन् । सुनवर्षी नगरपालिका–१ का  ३५ वर्षीय वीरेन्द्र पासवान र सोही ठाउँकी ३४ वर्षीया डल्ली पासवानलाई इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरेको हो । प्रक्राउ पर्ने श्रीमान् श्रीमती हुन् ।

उनीहरूले फागुन ११ गते बेलुका ८ बजे चक्कु प्रहार गरी माझीको हत्या गरेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । हत्या गरेपछि उनीहरूले घरनिजकैको पोखरीको डिलमा खाडल खनेर शव गाडेको प्रहरीले जनाएको छ । हत्या गरेको ६ दिनपछि प्रहरीले शव फागुन १७ गते फेला पारेको थियो । शव फेला पारेको दिन उनीहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी कार्कीले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वीरेन्द्रको श्रीमती डल्लीसँगको अवैध सम्बन्ध रहेको आशङ्कामा विशालको हत्या गरेको खुलेको छ । मृतक माझी र डल्लीको घर करिब तीन सय मिटर पूर्व–दक्षिणमा पर्दछ । उनीहरू छिमेकी हुन् । वीरेन्द्र कल गाड्ने र बनाउने काम गर्ने मिस्त्री हुन् । उनी दिनभरि बाहिर काममा जाने राति मात्र घर आउने गरेका थिए ।

‘वीरेन्द्र नभएको बेला विशाल डल्लीको घरमा आउजाउ गर्ने गरेको रहेछ । श्रीमतीसँगको अवैध सम्बन्ध रहेको आशङ्कामा वीरेन्द्रले हत्याको योजना बनाएको देखिएको छ । ११ फागुनमा राति वीरेन्द्रले विशाललाई घरमा बोलाएका रहेछन् । त्यसै रात घरदेखि पाँच सय मिटर पर पोखरीको डिलमा लगेर चक्कु प्रहार गरी हत्या गरेको देखिएको छ’–अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

पोखरीको डिलमा गाडियो शव
श्रीमतीसँगको अवैध सम्बन्धलाई लिएर हत्या गरेपछि शव व्यवस्थापनमा समस्या भयो । ‘वीरेन्द्र आफैले शव जमिन मुनी गाड्ने र प्रमाण सबै नष्ट गरिदिने जुक्ति निकाले । त्यही योजनाअनुसार बेल्चाले खाडल खनेर रातभरिमा शव व्यवस्थापन गरेको देखिएको छ’–अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । प्रहरीले हत्यामा प्रयोग भएको चक्कु, बेल्चा पनि बरामद गरेको छ । डल्लीको भूमिका वीरेन्द्रको हत्या गरेपछि शव व्यवस्थापनमा देखिएको प्रहरीले बताएको छ ।

हत्यापछि प्रहरीमा सूचना
वीरेन्द्र र उनकी श्रीमती डिल्लीले हत्या गरेको तीन दिनपछि मात्र विशाल हराएको सूचना लिएर बाबु डिल्लीबहादुर माझी इलाका प्रहरी कार्यालय रङ्गेलीमा पुगेका थिए । विशाल कक्षा ८ मा अध्ययनरत रहेका थिए । इप्रका रङ्गेलीमा बालक हराएको सूचना पाएपछि प्रहरीले खोजी कार्य तीव्र बनायो ।

१७ फागुनमा राति पोखरीको डिलमा शव रहेको प्रहरीलाई खबर पुग्यो । प्रहरीले पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि घटना स्वीकार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई इप्रका रङ्गेलीले बुधबार मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी कार्कीले जानकारी दिए ।