धनकुटा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् उत्तरपानी बहुप्राविधिक शिक्षालय धनकुटाले ३५ औं वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार उत्सवको समापनका अवसरमा बोल्दै मनमोहन प्राविधिक विश्व विद्यालय मोरङका उपकुलपति डा.सुवास श्री पोख्रेलले उत्तरपानीसँग डिप्लोमाका लागि सिटिइभिटीको कोटा छुट्याउन तत्काल सम्झौता हुने बताए । उनले भौतिक पूर्वाधारको हिसाबले केही अपुग भए पनि क्षेत्रफलको हिसाबले ८ सय ६५ रोपनीभन्दा बढी जग्गा रहेको उत्तरपानी प्राविधिक शिक्षालय धनकुटामा बाली विज्ञान र कृषिको स्नातक तहको कार्यक्रम सञ्चालन गर्न विश्व विद्यालयले सहयोग गर्ने बताए ।
शिक्षालयका सहायक प्रशिक्षक सोम रानाले पशु स्वास्थ्य व्यवस्थापनसम्बन्धी विद्यार्थीहरूको लागि अत्यन्तै उपयोगी पुस्तक प्रकाशन गरेको भन्दै प्रशंसाका साथ धन्यवाद दिए ।
त्यसैगरी धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् शिक्षालय सञ्चालक समितिका अध्यक्ष लीलाकुमारी केसी पाण्डेले उच्चतम् उत्पादन दिन सक्ने र योगदान गर्न सक्ने अवस्थामा उत्तरपानी प्राविधिक शिक्षालय रहेको दाबी गरिन् । उनले भने, ‘हालसम्म उत्तरपानी शिक्षालयले कति जनशक्ति उत्पादन गरेर देशको लागि योगदान गर्यो भन्ने लेखाजोखा र मूल्याङ्कन हुनुपर्छ ।’ उनले सिटिइभिटीलाई थप गतिशील बनाउनु पर्नेमा जोड दिएकी थिइन् ।
त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गानाले उत्तरपानी प्राविधिक शिक्षालयमा हरेक किसानका छोराले बाली विज्ञान र पशु विज्ञानमा निःशुल्क पढ्न पाउने व्यवस्था गर्नु पर्नेमा जोड दिए । उनले अहिले पनि दूरदराजको के कुरा गर्नु ? धनकुटा, तेह्रथुमजस्ता सुगम जिल्लामा समेत पशु तथा कृषि प्राविधिकहरूको अभाव रहेको औंल्याए ।
सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा बोल्ने अधिकांश वक्ताहरूले सिटिइभिटीले दिने शिक्षा भनेको ‘बोली खाने नभएर, गरिखाने शिक्षा’ भएको बताएका छन् । प्राविधिक शिक्षाले बेरोजगार बस्नु नपर्ने, जसले मिहिनेत गरेर पढ्छ, उसले आफू र आफ्नो परिवारको भविष्यको जग चाँडै बसाउने वक्ताहरूको ठहर थियो ।
कार्यक्रममा उत्तरपानी बहुप्राविधिक शिक्षालयका सहायक प्रशिक्षक सोम राना मगरले प्रकाशन गरेको पशुपालन व्यवस्थापनसम्बन्धी उपयोगी पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथि सुवास श्री पोख्रेल, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी (पाण्डे), शिक्षालय प्रमुख शङ्करदेव कोइराला, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् प्रदेश नं.१ का निर्देशक नवराज कोइराला, धनपा वडा नं.१० का वडाध्यक्ष नगेन्द्र पाण्डे, भेटेरिनरी तथा पशुविज्ञ सेवा केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गाना, कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानालगायतले संयुक्त रूपमा गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रमको अवसरमा आयोजना गरिएको प्रतियोगितामा विजेता छात्र–छात्राहरूलाई पुरस्कार, मेडल तथा प्रमाण–पत्रसमेत सो अवसरमा प्रदान गरिएको थियो । प्रतियोगितामा छात्रातर्फ १८ महिने प्रि–डिप्लोमाको ०७८/७९ को ग्रुप प्रथम भएको थियो भने डिप्लोमा प्रथम सेमेस्टरको ग्रुप दोस्रो भएको थियो । महिला भलिबलतर्फ प्रि–डिप्लोमाको ०७८/८० को ग्रुप प्रथम भएको थियो भने प्रि–डिप्लोमाको दोस्रो ब्याज द्वितीय भएको थियो ।
त्यसैगरी पुरुष फुटबल (छात्र) तर्फ प्रि–डिप्लोमाको ०७९/८० को ग्रुप प्रथम भएको थियो भने प्रि–डिप्लोमाको ०७८/८० को ग्रुप दोस्रो भएको थियो । त्यसैगरी पुरुषतर्फको भलिबलमा डिप्लोमा प्रथम सेमेस्टरको ग्रुप प्रथम भएको थियो भने प्रि–डिप्लोमा ०७९/८० को ग्रुप दोस्रो भएको थियो ।
त्यसैगरी हाजिरी जवाफ प्रतियोगिता र म्यूजिकल चियर प्रतियोगितामा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पनि पुरस्कार र प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यसैगरी आ.व.०७८/७९ मा राम्रो काम गरेर उत्कृष्ट हुने एक कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरी डिप्लोमा प्लाण्ट साइन्स प्रथम वर्षबाट दोस्रो वर्षमा प्रवेश गर्दा उत्कृष्ट अङ्क ८०.२ प्रतिशत ल्याई प्रथम हुने मनिता आले मगर र डिप्लोमा प्लाण्ट साइन्स दोस्रो वर्षबाट तेस्रो वर्षमा प्रवेश गर्दा उत्कृष्ट अङ्क ८८.२ प्रतिशत ल्याई प्रथम हुन सफल रेला धमलालाई प्रमाण–पत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।