देउराली । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा एक महिला मृत फेला परेकी छन् ।
गाउँपालिकाको २ नम्बर वडाको फूलबारी सिमलबोटेकी ३९ वर्षीय सुखमाया श्रेष्ठ मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । कार्यालयका अनुसार बिहीबार बाख्रा चराउन भनेर हिँडेकी सुखमाया साँझ पनि घर नफर्किएपछि खोजतलास गर्ने क्रममा मृत फेला परेकी हुन् ।
जमिनी तहमा रहेको विद्युतको नाङ्गो तारलाई छोइरहेको अवस्थामा शव फेला परेकोले करेन्ट लागेर मृत्यु भएको हुनसक्ने कार्यालयले जनाएको छ । शव फेला परेको स्थानको निरीक्षणका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक कुशराम कार्कीको टोली खटिएको प्रहरी जनाएको छ ।