धरान । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रोको सुरुङभित्र फेरि एकजना कामदारको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
यसअघि पनि सुरुङमा काम गर्ने क्रममा दुईजना मजदुरको ज्यान गएको थियो । चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा मङ्गलबार बिहान सुरुङ भत्किँदा सिन्धुपाल्चोक जिल्लाका २० वर्षीय सूर्य गोले तामाङको निधन भएको हो । उक्त सुरुङ पावरहाउस रहेको स्थानमा पर्छ ।
त्यसक्रममा भोजपुरका अर्का श्रमिक ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मङ्गल तामाङ घाइते भएका हुन् । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । उनीहरू सामान्य उपचारपछि काममा फर्किएका छन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ ।