विजयपुर । बौद्ध दाह संस्कारस्थलका कङ्क्रिटका चिहान हटाई व्यवस्थापन गरिने भएको छ ।

बौद्ध दाह संस्कारस्थललाई पर्यापर्यटनका रूपमा विकास गर्नका लागि कङ्क्रिटबाट बनाइएका चिहान हटाई व्यवस्थापन गरिने भएको हो । बौद्ध दाह संस्कारस्थल धार्मिक वन पर्यटन केन्द्रको १६ औँ वार्षिक साधारणसभाले पुराना चिहान हटाई व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

शनिबार धरान–८ स्थित दाह संस्कारस्थलमा सम्पन्न साधारणसभाले पर्यापर्यटनका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने निर्णय गरेको केन्द्रका सचिव राजन मोक्तानले बताए । उनले भने, ‘पुराना चिहान हटाई व्यवस्थापन गर्ने निर्णय भएको छ ।’ उनले वातावरणलाई प्रभाव पार्ने भएकाले कङ्क्रिटले बनेका चिहान पूर्णरूपमा व्यवस्थापन गर्ने निर्णय गरेको बताए । यस्तै केन्द्रले नै लगाएका ‘टिक’ प्रजातिका आवश्यक रुख हटाई अन्य प्रजातिका बिरुवा लगाउने भएको छ ।

केन्द्रले त्यहाँ ‘मिनी बोधगया’ लगायत अन्य धार्मिक संरचना बनाउने भएको छ । कर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न साधारणसभामा सव–डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख विक्रम अमात्य प्रमुख अतिथि रहेका थिए । सभामा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।