इटहरी । इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने भवन भत्काउन सुरु गरेको छ । ६ लेन सडक निर्माणमा बाधा गरेको भन्दै २ घरमा उपमहानगरले डोजर चलाएको हो ।
उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले निर्माणाधीन ६ लेन सडक परियोजनाका क्रममा सडक क्षेत्राधिकारभित्र रहेका भवनले निर्माण कार्यमा असर पुर्याएको देखिएकाले भवन भत्काइएको उपमहानगरले जनाएको छ ।
उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको भवन पहिलोपटक शुक्रबारबाट भत्काउन सुरु गरेको नगरप्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काउनेछ ।
उपमहानगरको दुईवटा डोजरसहित भवन भत्काउन प्रमुख पौडेल स्वयम् उपस्थित थिए । यसअघि उपमहानगरले सूचना जारी गरे पनि स्थानीयवासीले चासो नदेखाएपछि भवन भत्काइएको पौडेलले बताए ।
रानी– विराटनगर– दुहबी– इटहरी– धरान ६ लेन सडक निर्माणका लागि राजमार्गमा रहेका भवनका कारण समस्या हुँदै आएको छ । इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणीक्षेत्र विराटनगर लाइनमा भने बाँकी नै रहेको छ ।
राजमार्गमै भवनहरू भएका कारण सडक निर्माण अलपत्रजस्तै छ । सूचना जारी गरेर अब राजमार्गका सबैजसो भवनहरू भत्काइने मेयर पौडेलले बताए । पटक– पटक सूचना जारी गर्दा पनि अटेर गरेको अवस्थामा उपमहानगर आफै अग्रसर भएर भवनहरू भत्काइने उनले बताए ।
इटहरीका राजनीतिक दल, प्रहरी प्रशासन, सरोकारवाला निकायसँग छलफल गरी शुक्रबारबाट राजमार्ग ओगटेर बनेका भवन भत्काउन सुरु गरिएको बताइएको छ ।