उदयपुर जिल्लामा साहित्य तथा कला प्रतिष्ठान गठन गरिएको छ । जिल्लामा साहित्य तथा कलासम्बन्धी काम गर्ने उद्देश्यले उदयपुर कला साहित्य प्रतिष्ठान गठन गरिएको हो । डा कैलाश राईको अध्यक्षतामा गठिन प्रतिष्ठानको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।
जिल्ला सदरमुकाम गाईघाटमा गरिएको एक कार्यक्रममा भाषा आयोगका सदस्य प्राज्ञ मातृका पोखरेलले प्रतिष्ठानले गर्नुपर्ने धेरै काम भएकाले यसको चुनौतीलाई पार गर्दै क्रियाशील हुन आग्रह गरे । संस्थालाई मूल्यवान् बनाउँदै जिल्लाको वाङ्मयको काम गर्नुपर्ने उनले बताए ।
प्रतिष्ठानका अध्यक्ष डा राईले केन्द्र सरकारभन्दा पनि बाहिर बसेर देशलाई केही गर्न सक्ने उद्देश्यले प्रतिष्ठान गठन गरिएको बताए । विकास भन्नु भौतिक निर्माण नभई साहित्य, कलाको विकास पनि भएको डा राईले बताए । प्रतिष्ठानका बारेमा जानकारी दिँदै प्रतिष्ठानका महासचिव माधव पोखरेल ‘गोज्याङ्ग्रे’ ले त्रैमासिक पत्रिका प्रकाशन गर्ने, जिल्लामा साहित्य र कलाका विभिन्न कार्यक्रम आयोजना गर्ने तथा बृहत् साहित्यिक महोत्सव गर्ने उद्देश्य रहेको बताए ।
प्रतिष्ठानको उपाध्यक्षमा वासुदेव उपाध्याय पोखरेल, सचिवमा सरिता पौडेल गुरागार्इं र कोषाध्यक्षमा महेन्द्रकुमार राई रहेका छन् । प्रतिष्ठानमा जिल्लाका आठ वटै पालिकाका साहित्य तथा कलाकर्मीहरू गरी २१ सदस्यीय समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी संस्थागत रूपमा प्रतिष्ठानको उद्घाटन गरिएको हो ।
प्रतिष्ठानको उदघाटन कार्यक्रममा जिल्लाका साहित्यकारले आ–आफ्ना रचना सुनाएका थिए ।