वराहक्षेत्र । सेवाग्राहीले धम्काएको भन्दै चतरा अस्पतालका ४ जना डाक्टरले सामूहिक राजीनामा दिएका छन् ।

स्थानीय युवराज श्रेष्ठले चिकित्सकमाथि दुव्र्यवहार गरेकोले त्रसित र असुरक्षित भएको भन्दै उनीहरूले बुधबार राजीनामा दिएका हुन् । राजीनामा दिनेमा डाक्टरहरू मेडिकल अधिकृतहरू विवेक बर्मा, विकास दास, सुरज थापा मगर र एमडीजीपी विशेषज्ञ चिकित्सक विष्णु भण्डारी रहेका छन् ।

डाक्टरले लेखेको अल्सरको एमोक्सिसिलिन औषधिले पखाला चलेको विषयमा चिकित्सक र श्रेष्ठबीच दिउँसो विवाद भएको थियो । विवाद मिलाउन बुधबार र बिहीबार भएको छलफलमा समाधान निस्कन सकेको छैन । करिब दुई दिनअगाडि स्थानीय युवराज श्रेष्ठले आमालाई लिएर अस्पतालमा जँचाउन आएका थिए । चेकजाँचपछि चिकित्सकले हजार एमजीको एमोक्सिसिलिन औषधि लेखेका थिए ।

सो औषधि अस्पतालमा नभएकोले श्रेष्ठले चतराबाहिरको मेडिसिन पसलमा औषधि खरिद गर्न जाँदा बिक्रेताले पाँच सय एमजीको खानुपर्ने बताएको र उनले किनेर ल्याएको हजार एमजीको औषधिले आमालाई पखाला चलेपछि सोही विषयलाई लिएर श्रेष्ठले चिकित्सकसँग विवाद गरेको राजीनामा दिने डाक्टरहरूलाई उद्धृत गर्दै अस्पतालका प्रबन्ध निर्देशक डा.अनिल गिरीले बताए ।

डाक्टर गिरीले सो औषधि सेवन गरेपछि बिरामीलाई पखाला चल्नु सामान्य भएको जानकारी दिए । चिकित्सक र सेवाग्राहीबीचको विवाद दुई चरणको छलफलमा समाधान हुन सकेको छैन । छलफलमा ‘श्रेष्ठले मैले गल्ती गरेको हो, कृपया तपाईंहरू अस्पताल छोडेर नजानुहोस्’ भन्दै आग्रह गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष होमप्रसाद गौतमले बताए ।

तर, डाक्टरहरूले भने श्रेष्ठले माफी नमागेको भन्दै अडान लिएपछि विवाद मिलाउन नसकिएको अध्यक्ष गौतमले बताए । बिहीबार बसेको व्यवस्थापन समितिको बैठकले दुवै पक्षलाई पत्राचार गर्ने बताएको छ । श्रेष्ठलाई लिखितरूपमा माफी माग्ने तथा चिकित्सहरू प्रत्येकलाई छुट्टाछुट्टै राजीनामा पुनर्विचार गर्न तथा श्रेष्ठले माफी माग्ने उपायको विकल्पसहितको राय, सल्लाह र सुझाव दिनू भन्दै उनीहरूलाई पत्र पठाइने बताइएको छ ।

त्यसबाट आएको प्रत्युत्तरका आधारमा कारबाही अगाडि बढाइने प्रबन्ध निर्देशक डा. गिरीले बताए । अस्पतालले आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्ने तयारी गरेको बुझिएको छ ।