वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–२ को मिलनचोकदेखि वडा नं.१ को सूर्यकुण्ड सडकको नगरपालिकाले अनुगमन गरेको छ ।
नगरप्रमुख रमेश कार्की, वडा नं. १ का अध्यक्ष किसन थापा मगरसहितको टोलीले बुधबार सडकको संयुक्त अनुगमन गरेको हो । अनुगमन टोलीले सडक निर्माणको काममा कुनै सम्झौता नगर्न निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्द राईलाई निर्देशन दिएको छ ।
वराहक्षेत्रको धार्मिक, ऐतिहासिक आदिवराह, लट्टेनीथान, भवानीथान र अदुवा बेसारको पकेट क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सहज र सरल सडक पहिलो प्राथमिकता भएको भन्दै साविक ७, ८ र ९ नम्बर वडाको विकासमा कुनै कसर बाँकी नराख्ने नगरप्रमुख कार्कीले बताए ।
नगरको पहाडी क्षेत्रमा सडकसँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको भन्दै मेयर कार्कीले यो क्षेत्रको विकासको लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेको बताए । यो आर्थिक वर्षमा नगरले वडा नं. १ को लागि साविक वडा नं. ७ को बरडाँडादेखि सूर्यकुण्डसम्म ४ किलोमिटरमा र साविक वडा नं. ८ को कटहरे चियाबारीसम्मको ९ किलोमिटर सडकको स्तरोन्नतिको लागि १०–१० लाख रुपैयाँ छुट्याएको छ ।
उता सडक विभाग विराटनरगले वडा नं.२ को मिलनचौकदेखि वडा नं. १ को सूर्यकुण्डसम्म करिब ९ किमी सडकको स्तरोन्नतिको लागि आर्थिक वर्षमा ७४ लाखमा ठेक्का लगाएको छ ।