धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत नवजात शिशुको उपचारका लागी धरानका  कालिगड युवाहरूको समूहले आर्थिक सहयोग गरेका छन् ।

बिहीबार प्रतिष्ठानको सघन कक्ष (आइसियु)मा उपचाररत धरान १५ का एक दम्पतीको जुम्लिया नवजात शिशुको  उपचारका लागी  कालिगड युवाहरूको समूहले ३४ हजार ६ सय ४० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।  

 ७ महिनामै जन्मिएका शिशुको पूर्ण रूपमा अंग विकास नभइसकेको अवस्थामा डाक्टरले सघन कक्षमा उपचार गर्नुपर्ने बताएपछि आर्थिक अवस्था कमजोर रहेका शिशुका बुबा अनीश दियालीले  उपचारका लागी आर्थिक सहयोगको अपिल गरेका थिए । उक्त अपिलसँगै कुमार गदाइली, ज्ञानबहादुर लामिछाने लगायतका धरानमा कार्यरत ९७ जना कालिगडहरूले आर्थिक सहयोग गरेको  तेजेन्द्र लामिछानेले बताए। 

गत शनिबार अचानक अस्वस्थ बनेपछि प्रतिष्ठान आएकी गर्भवती  धरान १५ की युनिशा दियालीको सोही दिन नर्मल डेलिभरी भई जुम्लिया बच्चा जन्मिएकोमा महिना नपुगी जन्मिएका  शिशुहरूको पूर्ण रूपमा अंगको विकास भई नसकोले डाक्टरहरूले सघन कक्षमा राखेर उपचार गर्नुपर्ने बताएको अनीशले बताए। 

ग्रील उद्योगमा काम गरेर गुजार गरिरहेका अनीशले भने " दुवै शिशुलाई आइसियुमा राखेको छ । तीन दिनको ३० हजार भन्दा बढी लाग्ने रहेछ ।  डाक्टरहरूले एक महिना सम्म नै राख्नु पर्छ भनिराख्नु भएको छ । ग्रीलमा काम गरेर गुजारा गरिरहेको हामीसँग त्यत्रो पैसा कहाँबाट ल्याउने।"

डाक्टरहरूको सल्लाह बमोजिम दुवै शिशुलाई सघन कक्षमा राखेर उपचार गराइरहेको भए पनि उक्त उपचारका लागी लाग्ने लागत आफ्नो आर्थिक हैसियत भन्दा माथि भएकोले  शिशुको उपचारका लागी सहयोग गर्न उनले आग्रह गरेका छन् ।