पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको १२ औं नगरसभाले तीन वटा कार्यसूची पारित गरेको छ ।
नगरपालिकाको कार्यालयमा सम्पन्न सभामा बाँकी मौज्दात बजेटको कार्यक्रम तथा बजेट, संशोधन प्रस्ताव र प्रज्ञा प्रतिष्ठान विधेयक पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७८/०७९ को अन्त्यमा बाँकी मौज्दात बजेटको कार्यक्रम तथा बजेट र चालु आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम संशोधन गरेको थियो । उपप्रमुख राधाकृष्ण न्यौपानेले संशोधन प्रस्ताव पेस गरेका थिए । त्यस्तै नगरप्रमुख मित्रप्रसाद काफ्लेले आर्थिक वर्ष २०७९/०८० का केही कार्यक्रम संशोधन प्रस्ताव पेश गरेका थिए ।
सोही नगरसभाले ‘फिदिम नगर प्रज्ञा प्रतिष्ठान विधेयक २०७९’ समेत पारित गरेको छ । नगरपालिकाको भाषा, लिपि, लोककला, लोकसंवाद, साहित्य, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै कला, साहित्य र संस्कृतिको अध्ययन अनुसन्धानका लागि प्रतिष्ठान विधेयक पारित गरिएको नगरप्रमुख काफ्लेले बताए । प्रतिष्ठानमा अध्यक्षसहित उपाध्यक्ष, सदस्य–सचिव र एक महिलासहित दुईजना प्राज्ञ सदस्य हुने व्यवस्था छ । त्यस्तै १० जना अन्य परिषद् सदस्य हुने व्यवस्था गरिएको छ ।