वराहक्षेत्र को वडा नम्बर २ मा बेवारिसे अवस्थामा नवजात शिशु भेटिएको छ । शुक्रबार दिउँसो करिब १२ बजे पुनर्वासस्थित पट्नाली खोला नजिकै जङ्गलमा नवजात शिशु बालिका भेटिएको हो ।
अस्पतालको कपडासहित रुख मुनि राखिएको अवस्थामा करिब ७ देखि १० दिनको शिशु भेटिएको इलाका प्रहरी कार्यालय चतराका प्रहरी नायब निरीक्षक पृथ्वी कार्कीले बताएका छन् ।
कठ्ड्ग्रिएको अवस्थामा फेला परेको शिशुको हात र खुट्टाका तीन वटा औला जोडिएको र टाउको सुन्निएको अवस्थामा रहेको बताइएको छ । उद्धार पछि गरिएको स्वास्थ्य परीक्षणमा शिशुको  सुगर लेबल डाउन रहेको र मुखको तालुमा समेत दुलो रहेको देखिएको  चतरा अस्पतालका मेडिकल अधिकृत सुरज थापा मगरले जानकारी दिए ।
करिब साढे ३ किलो तौलको शिशुको मुटुको गति का साथै  आँखा, नाक लगायत  शरीरको अन्य अङ्ग ठिक अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ । 
शिशुलाई थप उपचार तथा अभिभावकको पहिचानका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पटाइएको प्रहरीले जनाएको छ ।
 
                     
         
                                        
                                                                                                 
        































