विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी श्यामलाल ज्ञवालीले प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउँदै सुशासन कायम गराउन खरो रूपमा उत्रिने प्रतिबद्धता जनाएका छन् ।
१ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख भएर आएको भोलिपल्ट डिआइजी ज्ञवालीले बिहीबार आयोजना गरेको सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले शान्ति सुरक्षा सुव्यवस्थापन कायम गर्दै अपराध नियन्त्रणमा लागिपर्ने बताएका हुन् । शून्य सहनशीलता अपनाउने र सुशासन कायम गर्नमा आफू लागिपर्ने उनले बताए ।
घटित अपराधको सफल अनुसन्धान गर्दै पुरानो पेन्डिङ मुद्दाको फछ्र्यौट, फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने पहिलो प्रथामिकता रहेको उनले बताए । ‘अदालतको फैसला कार्यान्वयनमा प्रहरी सङ्गठन लागिपर्नेछ’ उनले भने, ‘अपराध गरेर फरार भएका प्रतिवादीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउनेछौं ।’
लागूऔषधबाट हुने अपराध रोकथाम र नियन्त्रणमा पनि लागिपर्ने बताए । चाँडै तराईको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाहरूमा लागूऔषधविरुद्धको अभियान सुरु गर्ने उनले बताए । उनले प्रदेश सरकारसँग समन्वय गरी शान्ति सुरक्षा कायम गराउँदै आम नागरिकको भरोसाको केन्द्र प्रहरी सङ्गठन बनाउन लागिपर्ने बताए । प्रहरी सङ्गठनभित्र शुद्धीकरण अभियानसँगै प्रहरीको मनोबल बढाउने काममा पनि ध्यान दिने उनले बताए ।
प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई अपराधरहित समाज निर्माणमा अहोरात्र खटिन मातहतका प्रहरीलाई निर्देशन दिए । उनले कानूनको परिधिमा रहेर जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न लागिपर्ने बताए । ज्ञवाली सरुवा भएर बुधबार मात्र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आएका हुन् ।
ज्ञवाली प्रहरी निरीक्षक रहँदा २५ वर्षअगाडि इलाका प्रहरी कार्यालय रङ्गेलीको प्रमुख पनि भएर बसेका थिए । विशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापनलगायत विषयसम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरूमा अनुसन्धानको नेतृत्व गरेका छन् ।