भद्रपुर । मेचीनगर नगरपालिकाले नगरभरिका पशुपालक कृषकहरुको सुविधाका लागि नगरका १५ वटै वडामापशु प्राविधिकहरु मार्फत उपचार तथा परामर्श सेवा प्रवाह गरिरहेको जनाएको छ । नगरस्तरीय पशुसेवा शाखाले एकजना प्राविधिकले चारवटा वडा हेर्ने गरी पशु प्राविधिक मार्फत सेवा तथा परामर्श सेवा प्रवाह गरिएको मेचीनगर नगरपालिकाले जनाएको हो ।

केही दिनअघि नगरका विभिन्न वडामा पशुहरुमा देखिएको रेबिज रोगकालागि रेबिज बिरुद्घखोप उपलब्ध गराएर पशुधनको सुरक्षा गरिएको पशु प्राविधिक सहायक छत्रबहादुर राईले बताए । हालसम्म ३ सय २५ वटा निःशुल्क बन्ध्याकरण सेवा, आन्तरिक परजीविको पहिचानको लागि गाई, भँैसी तथा बाख्रा गरी कुल २ सय २० वटाको गोबर परिक्षण गरीऔषधि बितरण गरिएको उनले जानकारी दिए ।

१ हजार ८ सय ३० वटा गाई, १ सय ६७ वटा भँैसीगरी कुल १ हजार ९ सय ९७ वटाको कृतिम गर्वधान गरिएको, पशुपालनमा आवश्यक घाँस खेतीको लागि किसानहरुलाई हिंउँदे जैघासको बीउ ५० प्रतिशत अनुदानमा बितरण गरिएको, पशुस्वास्थ्य व्यवस्थापनको लागि औषधि खरिद तथा वितरण कार्यक्रम समेत नगरपालिकाले पशुसेवा शाखा मार्फत नगरका कृषकहरुलाई सेवा प्रवाह गरिरहेको राईले जानकारी दिए ।

पशु नश्ल सुधारकालागि लिक्विड नाइट्रोजन इन्सेमिनेटरहरुलाई बितरण कार्यक्रम सञ्चालन भइरहेको, प्राथमिक उपचार सेवा नियमित रुपमा प्रवाह भइ आएको, पशु बिमा सेवा सम्बन्धि जानकारी गरी पशुधन सुरक्षा गरी मृत्यु दावि सम्बन्धि सिफारीस तथा सहजीकरण गर्ने कार्य भइरहेको उनले जनाए । त्यसैगरी  गाईभैँसीमा फैलिएको महामारी रोग लम्फी ,छाला रोग, एलइसडी रोग नियन्त्रणको लागि तत्काल प्रदेश र सङ्घीय सरकारमा जानकारी गराएर प्राथमिक उपचारकालागि निःशुल्क सामान्य औषधि बितरण गरिएको उनको भनाइ छ । पशुपालक तथा मत्स्यपालक कृषकहरुलाई प्रोत्साहनको लागि सूचना प्रवाह गरी सञ्चालनको तयारी गरिरहेको राईले बताए । नगरले पशु किसानप्रति देखाएको चासोले खुसी वनाएको नगरपालिका ७ का किसान हरिप्रसाद पौडेलले बताए ।  यस्तो सेवाले पशु किसानमा थप हौसला बढाएको उनले सुनाए । 

सेवा शाखामार्फत चालु आर्थिक वर्ष २०७९÷०८० मा पशुमा लाग्ने महामारी भाइरल रोग नियन्त्रणको लागि पीपीआर, एफएमडि तथा स्वाइन फिबरको बिरुद्घ खोप कार्यक्रम पीपीआर १५ हजार र स्वाइन फिबर ५ हजार डोज सवै वडामा पुर्याएर सेवा सञ्चालन भइरहेको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिइन् । नगरले दिएको सेवाप्रति किसानहरुमा खुसी छाएको उनको भनाइ छ ।