धनकुटा । २८५९ औँ सोनाम ल्होछारको अवसर पारेर धरान उपमहानगरपालिका–४ स्थित तामाङ नाम्सा सेर्गे गाउँमा बुद्धको मूर्ति प्रतिस्थापन गरी बौद्ध गुम्बा निर्माण गरिएको छ ।
तामाङहरूको मात्र बस्ती रहेको सेर्गे गाउँमा पहिलो पटक बुद्ध भगवान्को मूर्ति प्रतिस्थापन र ट्रसबाट अस्थायी गुम्बा निर्माण गरी सोमबार स्थापना गरिएको हो । नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको संयोजकत्वमा बुद्धको मूर्ति निर्माण गरी प्रतिस्थापन गर्ने कार्य सम्पन्न भएको हो ।
गुम्बा स्थापना कार्यको समुद्घाटन प्रमुख अतिथि नेपाल तामाङ घेदुङका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपमहासचिव रामकृष्ण ब्लोन तामाङले गरेका थिए । सोनाम ल्होछार नयाँ वर्षको अवसर पारेर शुभकामना आदान–प्रदान तथा बुद्ध मूर्ति प्रतिस्थापन समारोहको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्य ममता योञ्जन तामाङ, धरान उपमहानगरपालिका–४ का वडासदस्य मीना घिसिङ तामाङ र गुम्बाका लागि जग्गादाता रामबहादुर घिसिङ तामाङ र फूलमाया योञ्जन तामाङलाई सम्मानित गरिएको छ । उनीहरूलाई प्रमुख अतिथि रामकृष्ण ब्लोन तामाङ, घेदुङका १ नं. प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ तामाङ र कार्यक्रम संयोजक सुजेन्द्र गोले तामाङले सम्मान–पत्र र खादा ओढाई सम्मानित गरे ।
कार्यक्रममा टङ्क घिसिङ तामाङको अध्यक्षतामा तामाङ नाम्सा सेर्गे गाउँ सुधार समितिसमेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा ताराबहादुर घिसिङ तामाङ, सचिवमा सुमन घिसिङ तामाङ, कोषाध्यक्षमा फूलमाया योञ्जन तामाङ, सदस्यहरूमा रामबहादुर घिसिङ तामाङ, मिठु घिसिङ तामाङ, मनिकुमारी तामाङ र सल्लाहकारमा विर्खबहादुर घिसिङ तामाङ रहेका छन् । बुद्धको मूर्तिलाई काठमाडौँको फर्पिङबाट आएका लामा गुरु सोनाम लामाले प्राण प्रतिष्ठा गरेका थिए ।