विर्तामोड । झापाको शहरी क्षेत्रमा अकरिलो समस्याका रुपमा रहेको फोहोर ब्यवस्थापन यसै महिनादेखि सहज हुने भएको छ । फोहोरमैलाको दीगो व्यवस्थापन र त्यसबाट उर्जा उत्पादनका लागि निर्माण गरिएको ‘कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा’ सञ्चालनको तयारीमा पुगेसँगै झापाको फोहोर ब्यवस्थापनको समस्याले निकास पाउने भएको हो ।

खासगरी बिर्तामोडको फोहोर ब्यवस्थापन मुख्य चुनौतीको रुपमा रहेको छ । पुर्वकै सबैभन्दा ठुला तरकारी र फलफुल बजार समेत रहेको कृषिथोक बजारमा उत्पादन हुने ठुलो परिमाणको फोहोर ब्यवस्थापन गर्नु यहाँ मुख्य चुनौती छ । फागुन महिनाको शुरुवातसँगै यो समस्या दीर्घकालिन रुपमा हल हुने भएको हो ।  

‘कुनै प्राविधिक समस्या नआए माघ अन्तिमदेखि फोहोर ब्यवस्थापन गर्ने प्लाण्ट सञ्चालनमा आउने छ,  सञ्चालक दिपक चापागाईले भने– ‘हामीले यसको ९५ प्रतिशत निर्माण पुरा गरिसकेका छौं । अब ५ प्रतिशत भनेको यहाँ ल्याइएका केही उपकरण जडान गर्न मात्र बाँकी हो ।’ उनले ढिलोमा माघ तेस्रो सातासम्ममा प्लाण्ट जडानको कार्य सकेर सञ्चालन हुने दावी गरेका छन् ।

२०७५ सालदेखि कनकाईमा निर्माण भइरहेको उर्जा प्लान्ट सञ्चालनको सम्पूर्ण तयारी पुरा गरिएको बताइएको छ । उनका अनुसार काम सम्पन्न गर्ना साथ प्लान्टको परीक्षण गरिने छ । त्यसपश्चात सड्ने फोहोरबाट बायोग्यास, ठोस मल र झोल मल उत्पादन गरिनेछ । मल बाहेक निर्माण सामग्री (पेवर्स) बनाइने कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीका मुख्य प्राविधिक जीवन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ४ हजार टन क्षमताको प्लान्ट पुर्ण रुपमा सञ्चालनमा आउँदा हरेक दिन १ हजार केजी ग्यास, ४ हजार केजी ठोस मल र ३० हजार लिटर झोल मल उत्पादन गरिनेछ ।

ज्वलन क्षमता, तापीय शक्ति राम्रो भएको बायोग्यास सो प्लान्टबाट उत्पादन गरिने श्रेष्ठको भनाई छ । सरकारी र समुदायको लगानीबाट निर्माण भएको उर्जा प्लान्टमा कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिका समेतले लगानी गरेका छन् । सो उर्जा प्लान्टमा समुदायको समेत लगानी छ ।

प्लाण्ट पुर्ण रुपमा सञ्चालन हुन तीनवटा स्थानीय तहमा उत्पादित फोहोरले मात्र नपुग्ने भएको हुँदा अरु स्थानीय तहलाई पनि यसमा समावेश गराउन छलफल शुरु भएको छ । शिबसताक्षी, मेचीनगर र भद्रपुर नगरपालिकासँग पनि यस योजनामा सहभागि हुन  छलफल शुरु गरिएको हो ।

६० प्रतिशत सरकारी लगानी हुने नविकरणीय उर्जामा तीनै पालिकाको २ करोड ५४ लाखका दरले लगानी गर्नेछन् । त्यसमध्ये कनकाई ९१ लाख, अर्जुनधारा ४० लाख र बिर्तामोड नगरपालिकाले ७० लाख लगानी गरिसकेको छ । कुल २२ करोड लगानी हुने उक्त परियोजना सञ्चालनमा आएपछि फोहोरमैलाको दीगो व्यवस्थापन हुने बताइएको छ । पहिलो चरणमा जिल्लाका तीन पालिकाले लगानी गरे पनि थप तीन पालिकाहरु लगानीका लागि इच्छुक भएका छन् ।

शिवसताक्षी, मेचीनगर र भद्रपुर समेतले आफ्नो नगरको फोहोरमैला व्यवस्थापनका लागि कनकाई उर्जासँग सहकार्य गर्ने तयारी गरेका छन् । त्यसका लागि कम्पनी र पालिकाबीच छलफल पनि भइसकेको छ । इच्छुक पालिकाहरुले कार्यपालिकामा छलफल गरेर अघि बढन्े बताएका छन् ।

कनकाई उर्जा सञ्चालनपछि उत्पादित ग्यास होटल र उधोगहरुमा निर्यात गरिने अर्का सञ्चालक मिनाल तिम्सिनाले जानकारी दिए । उनले प्लान्टबाट उत्पादित मल किसानलाई विक्री गरिने बताए । ‘यहाँबाट उत्पादित मल अर्गानिक हुनेछ, यो मल प्रयोग गरेर किसानले पनि अर्गानिक उत्पादन गर्न सक्नेछन’, तिम्सिनाले भने ।

परियोजनाका प्राविधिक श्रेष्ठले फोहोरको स्रोतमै वर्गीकरण हुन आवश्यक भएको बताएका छन् । स्रोतमा वर्गीकरण गरिएको फोहोर संकलन गरेर प्लान्टमा प्रयोग गरिनेछ । आम नागरिकले कुहिने, नकुहिने र धातुजन्य फोहोर अलग्गै छुट्टाएर दिनुपर्ने बताए । बिर्तामोड नगरपालिकाले फोहोरमैलाको वर्गीकरणका लागि सचेतना कार्यक्रम समेत गरिरहेको छ भने अन्य स्थानीय तहले पनि त्यसको तयारी गरिरहेको बताएका छन् ।