धरान । धरान उपमहानगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालित आमसञ्चार माध्यमहरूलाई दिने लोक कल्याणकारी सूचना वितरणसम्बन्धी मापदण्ड २०७९ निर्माण गरेको छ । आमसञ्चार माध्यमहरूले स्थानीय तहबाट पाउने सेवासुविधालाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले नयाँ मापदण्ड निर्माण गरेको हो ।
लोक कल्याणकारी विज्ञापनसम्बन्धी मापदण्ड स्वीकृत भएको सूचना अधिकृत ध्रुव अधिकारीले जानकारी दिए । आमसञ्चार माध्यमहरूबाट प्रसारण गरिने लोक कल्याणकारी सूचना वितरण गर्दा मापदण्ड नभएका कारण समस्या रहेको उनले बताए । नगरका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले स्वीकृत गरेको उनले बताए ।
आमसञ्चार माध्यममा लोक कल्याणकारी सूचना प्रसारणबापत दैनिक, साप्ताहिक, अर्धसाप्ताहिक, पाक्षिक, मासिक, अनलाइन, रेडियो र टिभीको हकमा फरक–फरक दररेट कायम गरेको छ । दैनिक पत्रिकाको हकमा वार्षिक ९५ हजार रुपैयाँ, अर्थसाप्ताहिकको हकमा ४५ हजार, साप्ताहिकको हकमा ३५ हजार, पाक्षिकको हकमा १५ हजार, मासिकको हकमा ७ हजार, त्रैमासिकको हकमा ५ हजार, चौमासिकको हकमा ४५ सय, अर्धवार्षिकको हकमा ४ हजार, रेडियो तथा एफएमको हकमा ३५ हजार, टेलिभिजनको हकमा ६० हजार र अनलाइनको हकमा १६ हजार रुपैयाँ वार्षिक दररेट कायम गरेको छ । त्यसका लागि आमसञ्चार माध्यमहरूले निश्चित शर्तहरू पालना गरेको हुनुपर्नेसमेत रहेको धरान उपमहानगरपालिकाको वेबसाइटमा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालद्वारा हस्ताक्षरित मापदण्डमा लोक कल्याणकारी विज्ञापन प्रेषित गर्नका लागि नेपालको संविधान र प्रचलित कानूनहरूको पालना गरेको, प्रत्येक वर्ष नवीकरण भएको, कर चुक्ताको प्रमाण पेश गरेको, लेखा परीक्षण प्रतिवेदन समावेश गरेको, श्रमजीवी पत्रकारसम्बन्धी ऐन र नियम पालना गरेको, आचार–संहिता पालना गरेको र सूचना विभाग, प्रेस काउन्सिल र धरान उपमहानगरपालिकामा अनिवार्य दर्ता भई नगरमा कम्तीमा एक वर्षदेखि नियमित सञ्चालन भएको हुनुपर्ने व्यवस्था लागू गरेको छ ।