मोरङ । मोरङको विराटनगर महानगरपालिका ११ नम्बर वडा कार्यालयको आयोजनामा महिलाहरूलाई तीन महिने निःशुल्क सिलाइ कटाइ तालिम सुरु गरिएको छ ।

वडाका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सोमबारदेखि तालिम सुरु भएको हो । तालिमको उद्घाटन महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले गरिन् ।

उपप्रमुख कार्कीले महिलालाई सिलाइ कटाइ तालिम जीवनोपयोगी हुने बताइन् । त्यस्तै वडाध्यक्ष तीथेन्द्र न्यौपानेले महानगरले लगानी गरेर निःशुल्क सीप सिकाउन लागेको बताए ।

उक्त लगानीको प्रतिफल दिने गरी सीप सिक्नका लागि प्रशिक्षार्थी महिलाहरूलाई उनले आग्रह गरे । तालिमलाई प्रशिक्षक उमा बरालले सहजीकरण गरिरहेकी छन् । आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने तालिममा २४ जना प्रशिक्षार्थी सहभागी छन् ।