वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका–७ स्थित सुनसरी–मोरङ सिंचाइ योजनाको नहरमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
सोमबार दिउँसो करिब पौने एक बजे ३२ आरडीस्थित चतरा नहरमा डुबेर ४० वर्षीय हिमाल थापाको निधन भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले बताए । नहरको डिलमा बसिरहेका थापा अचानक लडेर नहरमा डुबेर बेपत्ता भएका थिए ।
मानिस डुबेको सूचना पाएलगत्तै इन्स्पेक्टर दत्तको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलबाट करिब ७ सय मिटर टाढा उनलाई मृत भेटेको थियो ।
शवको मुचुल्का गरी पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको इन्स्पेक्टर दत्तले जानकारी दिए ।