धरान । कोरोनाको कारण देखाउँदै चीनले किमाथाङ्का नाका बन्द गरिदँदा त्यस क्षेत्रका बस्तीवासी समस्यामा परेका छन् ।

नाका बन्द गरेको लामो समय बितिसक्दा पनि नखोल्दा किमाथाङ्काका ३५ घरपरिवार तथा रिकादका ३० घर विस्थापित बनेका छन् ।

भोटखोला गाउँपालिका–१ का पूर्व वडाध्यक्ष तेन्छेबी शेर्पाका अनुसार नाकाबन्दी लम्बिँदा किमाथाङ्काबाट ३५ घरपरिवार काठमाडौँ विस्थापित भएका हुन् । उनले यही अवस्था रहिरहे थप घरपरिवार पनि विस्थापित हुने दाबी गरे । उनका अनुसार हुँगुङ पोप्तीको बाटोमा हिउँ  परेको खण्डमा थप अर्को नाकाबन्दी झेल्नुपर्ने अवस्था आउँछ ।

स्थानीय दावा शेर्पा भोटेले पनि नाकाबन्दीका कारण स्थानीयले सास्ती बेहोर्नुपरेको बताए । उनले नेपाल सरकारले तत्काल पहल गरेर खोलिदिन आग्रह गरे ।

रिकादबाट घिउ बेच्न झरेका स्थानीय फुर्पुतेम्बा भोटेले गतसालदेखि हालसम्म रिदाकबाट करिब ३० घर विस्थापित भएको बताए । उनले यो साल मात्र १३ घर विस्थापित भई काठमाडौँ गएको बताए । सीमा प्रहरी कार्यालय किमाथाङ्काका सहायक हवल्दार देवेन्द्र लिम्बूले यस विषयमा आफूहरूलाई कुनै आधिकारिक जानकारी नआएको बताए ।

भोटखोला गाउँपालिकाका निमित्त अधिकृत फुर्पु भोटेले पनि पञ्जीकरण गरेर जानेको कुनै आधिकारिक तथ्याङ्क नभएको स्पष्ट पारे । उनले नाकाबन्दीको प्रभाव भने रहेको स्वीकार गरे । यस विषयमा भोटखोला गाउँपालिकाका प्रमुख वाङ्छेदर लामाले नाकाबन्दीले स्थानीयवासी प्रभावित भएको बताए ।