वराहक्षेत्र । चुरेक्षेत्रमा रहेको नदी प्रणालीको कार्यान्वयन गर्नको लागि गरिने क्रियाकलाप, त्यसको वातावरणीय तथा सामाजिक व्यवस्थापनको योजना बनाउन लागि सरोकारवालासँग अन्तरक्रिया गरिएको छ ।
१ नम्बर प्रदेश सरकारको आयोजना व्यवस्थापन एकाइले बिहीबार वराहक्षेत्र–२ मा नदी प्रणालीहरूको योजना तर्जुमा गर्नको लागि पटनालीमा नदीस्तरीय अन्तरक्रिया गोष्ठीको आयोजना गरेको हो ।
कार्यक्रममा धरानको पटनाली र वराहक्षेत्रका विभिन्न वन समूह, संस्था र स्थानीय गरी करिब ३५ जनाको सहभागिता रहेको थियो । गोष्ठीमा वातावरणीय तथा सामाजिक व्यवस्थापन योजना (इएसएमपी) तर्जुमा टिम लिडर डा. यादवप्रसाद कँडेलले सहजीकरण गरेका थिए ।
कार्यक्रममा नदी क्षेत्रमा बसोबास गर्ने दलित, आदिबासी र अन्य गरी ३ समूहमा सहभागीहरूसँग सम्भावित वातावरणीय र सामाजिक जोखिम एवम् त्यसको न्यूनीकरणको सम्बन्धमा विचार सङ्कलन गरिएको टिम लिडर डा. कँडेलले जानकारी दिए ।
आयोजनाले ७ लाख २ हजार ११ हेक्टर क्षेत्र ओगटेको छ । जसमध्ये २ लाख २७ हजार २ सय ७६ हेक्टर वनक्षेत्र छ । ९६ हजार ३ सय ११ हेक्टर बाढी प्रभावित क्षेत्रभित्र रहेको करिब ७ लाख जनसङ्ख्या लाई एकीकृत दिगो प्राकृतिक स्रोत व्यवसथापनका माध्यमबाट नेपालको चुरेक्षेत्रमा रहेको इकोसिस्टम र जोखिम समुदायको जलवायु उत्थानशीलता वृद्धि गर्ने लक्ष्य रहेको छ ।