धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ सिँधुवा बजारमा शुक्रबारको आगलागीबाट ४९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

छथरजोरपाटी गाउँपालिकाले भने २ करोड ४६ लाख ४० हजार बराबरको क्षति भएको जनाएको छ । शुक्रबार साँझ सुरु भएको आगलागीबाट ५ वटा घर जलेर नष्ट भएका छन् । सन्तबहादुर (सन्तोष) राईको घरमा रहेको फ्रेस हाउसबाट सल्किएको आगोले काठ र टिनका पाताले बनेको २ तले घर पूर्णरूपमा जलेर नष्ट भएको थियो । आगलागीबाट राईको २ तोला सुन, नगद २ लाख, २० वटा कुखुरा जल्दा अन्दाजी ३७ लाख बराबरको क्षति भएको छ ।

त्यसैगरी सोही स्थानका डिकबहादुर खड्का र होमबहादुर थापाको संयुक्तरूपमा रहेको २ तले पक्की घर पनि जलेको छ । अगालागीबाट थापा र खड्काको करिब ५ लाख पचास हजार बराबरको क्षति भएको छ । अर्का झमकबहादुर थापाको २ तले पक्की घर आंशिक क्षति भएको छ । उनको ७० हजार नगद ५ थान खाट, २ तोला सुन र लत्ताकपडा जलेर नष्ट हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै अर्जुन घिमिरेको २ तले पक्की घरको माथिल्लो तला आंशिक क्षति भई लजको २ कोठाको ट्रस, लत्ताकपडा गरी अन्दाजी १ लाख बराबरको क्षति भएको छ । अर्का डम्बर थापाको अन्दाजी ५० हजार बराबरको काठ जलेर क्षति भएको छ । आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगो नियन्त्रणका लागि धनकुटा नगरपालिका र तेह्रथुमको लालीगुराँस नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

यसैबीच छथरजोरपाटी गाउँपालिकाले अग्नि पीडित ७ परिवारलाई शनिबार बिहानै राहत वितरण गरेको छ । पालिकाले प्रतिपरिवार नगद १५ हजार, दाल–चामल, भाँडावर्तन, लत्ताकपडा, ग्याँस चुला, त्रिपाल प्रदान गरेको अध्यक्ष छत्र सुब्बाले बताए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनकुटाले सन्तबहादुर राई, झमकबहादुर थापाको परिवारलाई २०–२० हजार र होमबहादुर थापाको परिवारलाई १५ हजार नगद प्रदान गरेको अध्यक्ष सुब्बाले बताए ।

त्यसैगरी जिल्ला रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाले पीडित परिवारलाई त्रिपाल, भाँडावर्तन, लत्ताकपडा राहत उपलब्ध गराएको छ ।

आगलागीमा परी सन्तबहादुर राई, झमकबहादुर थापा, ललिता राई र होमबहादुर थापाको केही पनि नबचेको त्रिपाल नै टाँगेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । यता सिँधुवा बजार व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी सिँधुवा उप–शाखा, उद्योग वाणिज्य सङ्घ छथरजोरपाटी र परोपकार युवा समूह छथरजोरपाटीले पीडित परिवारलाई राहत सङ्कलन कार्यको थालनी गरेको छ ।