धरान । हङ्कङ सरकारले हङ्कङ–नेपाली महासङ्घकी अध्यक्ष तथा समाजसेवी रीता गुरुङलाई महिला आयोगको सदस्यमा नियुक्त गरेको छ ।

हङ्कङ सरकारको गृह तथा युवा मामिला मन्त्रालय अन्तर्गतको महिला आयोगमा शुक्रबार गुरुङसहित सात जनालाई नियुक्त गरिएको हो । जसमध्ये नेपाली समुदायबाट गुरुङ एकमात्र सदस्य हुन् । आयोगका सदस्यको कार्यकाल दुई वर्ष रहने व्यवस्था छ ।

गृह र युवा मामिलाका सचिव एलिस माकले विज्ञप्ति जारी गर्दै आयोगले स्थापना भएदेखि नै हङ्कङमा महिलाहरूको हितका लागि काम गरिरहेको बताएकी छन् । आयोगका सदस्यहरूले सरकारलाई महिलासम्बन्धी नीति निर्माणमा सल्लाह दिने काम गर्छन् ।

लामो समयदेखि हङ्कङमा रहेर सामाजिक काममा सक्रिय गुरुङले सरकारले महिला आयोगमा नियुक्त गरेपछि आफ्नो जिम्मेवारी अझै बढेको बताइन् । उनी हङ्कङको नेपाली समुदायका विभिन्न संस्थामा रहेर नेतृत्व गर्दै आएकी छन् ।

नेपाल क्लब हङ्कङको समेत अध्यक्ष रहेकी गुरुङले समाजमा पु¥याएको योगदानको कदर गर्दै हङ्कङ सरकारले सन् २०१६ मा ‘चिफ एक्ज्युकेटिभ्स कमन्डेसन फर कम्युनिटी सर्भिस’ अवार्ड प्रदान गरेको थियो ।

गुरुङले हङ्कङ सरकार अन्तर्गतका विभिन्न समितिमा रहेर काम गरिसकेकी छन् । हङ्कङमा रहेका जातीय अल्पसङ्ख्यक समुदायको हक हितका लागि पनि उनले सक्रियरूपमा काम गरिरहेकी छन् ।