विजयपुर । बलात्कारका घटना आर्थिक लेनदेन गरी मिलाउन खोजेको आरोपमा धरान–१४ की शान्ता खड्का पक्राउ परेकी छन् ।
शनिबार इलाका प्रहरी कार्यालयको टोलीले खड्कालाई धरान–१४ विजयपुरस्थित घरबाट पक्राउ गरेको हो । उनीविरुद्ध ठगीको मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले बताए ।
उनले खड्कालाई आइतबार म्याद थप गरी अनुसन्धान गर्ने बताए । खड्काले धरान–१७ का अनिष चौधरीको बलात्कार मुद्दा मिलाउने भन्दै १० लाख रुपैयाँ ‘बार्गेनिङ’ गरेको आरोप छ ।
खड्काविरुद्ध अनिष चौधरीका भाइ जयबहादुर चौधरीले इलाका प्रहरी कार्यालय धरानमा ठगी मुद्दामा जाहेरी दिएका थिए । अनिष चौधरीका पत्नी रविना चौधरीको मृत्यु भएको छ ।
चौधरीले धरान–१७ कै एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो भने हाल उनी पुर्पक्षका लागि जेलमा छन् । परिवारका आफन्तका अनुसार रविनासँग खड्काले सुरुमा १० लाख र पछि साढे ३ लाख रुपैयाँमा मिलापत्र गराउने भनी रकम लिएकी थिइन् ।