विजयपुर । धरानको मुख्य बजारक्षेत्र भानुचोक अस्तव्यस्त बन्दै गएपछि व्यवस्थापन गर्नका लागि कार्यदल बनेको छ । धरानको मुख्य बजारक्षेत्रको व्यवस्थापन गर्ने उद्देश्यले सरोकारवाला निकायसहित सङ्घ–संस्थाहरूसँग छलफल गरेको छ ।

धरानका नगरप्रमुख हर्कराज राईको सक्रियतामा जिल्ला प्रशासन कार्यालय, १ नं. ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायातका संस्था तथा यातायात मजदुर सङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा भानुचोकको अस्तव्यस्ततालाई व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो ।

छलफलमा नगरप्रमुख राईले भानुचोक र मुख्य बजारक्षेत्रको सडकलाई ‘वान वे’ बनाउन प्रस्ताव गरेका थिए । बैठकले वडानम्बर २ का अध्यक्ष रमेश राईको अध्यक्षतामा १७ सदस्यीय अध्ययन समिति बनाएको छ ।

समितिमा वडा नं. १, ३, ७, ९ र १२ का अध्यक्ष, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रदेश १ अध्यक्ष सरोज श्रेष्ठ, टेम्पोका प्रतिनिधि, सुमोका प्रतिनिधि, सिटी सफारीका प्रतिनिधि, इलाका प्रहरी कार्यालय धरान, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानलगायतका प्रतिनिधिहरू सदस्य रहेका छन् ।

धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटा कार्यदलको सदस्य–सचिव छन् । समितिले बजार व्यवस्थापनसम्बन्धी अध्ययन गरेर १० दिनभित्र प्रतिवेदन बुझाउने छ ।