धनकुटा । धनकुटा सदरमुकामसंगै रहेको सल्लेरी वनमा मंगलबार राति डढेलो लागेको छ । सल्लेरी राष्ट्रिय वनमा मध्य रातदेखि डढेलो लागेको प्रहरीले जनाएको छ ।
डढेकोको कारण बजारको सरस्वती चोक तथा नयाँ वस्ती क्षेत्र जोखिममा परेका थिए । रातिदेखि नै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी सहितको समुह आगो निभाउन खटिएका छन् ।
राति केहि समय नियन्त्रणमा आएपनि पुनः आगो सल्किएको थियो । बिहानदेखि धनकुटा नगरपालिकाको दमकल परिचालन गरिएको थियो । एक हेक्टर वनमा क्षति पुगेको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राइले जानकारी दिए ।
कोसी राजमार्गको धरान धनकुटा खण्डमा पर्ने उक्त वनमा डढेलो सल्किएपछि आगो नियन्त्रण नहुन्जेल सवारी साधन समेत रोकिएका थिए । डढेको कारण भने खुल्न सकेको छैन ।
उक्त वनमा सुख्खा याममा प्राय डढेलो लाग्ने गर्दा बजार क्षेत्र जोखिममा पर्ने गरेको छ । १ सय ४० वर्ष पुराना रुख भएकाले हावाहुरीका कारण ढल्ने गर्दा समेत जोखिम बढ्ने गरेको छ । पुराना रुख कटाउन बन कार्यालयको चासो नजादा समस्या भोग्नु परेको स्थानीय दिपक भुजेलले बताए ।