धरान । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले आफ्ना सदस्यलाई दुव्र्यवहार गरेको भन्दै प्रेस युनियन मोरङले कडा कारबाहीको माग गरेको छ । युनियनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै शिवाकोटीलाई कारबाही गर्न माग गरेको हो ।
खेलकुद विकास बोर्ड प्रदेश १ को उपाध्यक्ष रहेकी जिना कार्की नेपाल प्रेस युनियन मोरङको कार्य समिति सदस्यसमेत हुन् । उनीमाथि मङ्गलबार साँझ शिवाकोटीले विराटनगरस्थित होटल रत्नामा आयोजित एक कार्यक्रमपछि दुव्र्यवहार गरेको युनियनको विज्ञप्तिमा उल्लेख छ । युनियनका कार्यवाहक अध्यक्ष कौशल निरौला र सचिव गोपाल पोखरेलले जारी गरेको विज्ञप्तिमा शिवाकोटीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।
कार्कीले आफूमाथि शिवाकोटीले मादक पदार्थ सेवन गरेर अशोभनीय व्यवहार देखाएको आरोप लगाएकी छन् । उनले मङ्गलबार साँझ विराटनगरमा आयोजित एक कार्यक्रम सकेर फर्किने क्रममा भेट हुँदा मादक पदार्थ सेवन गरी शिवाकोटीले आफूलाई दुव्र्यवहार गरेको आफ्नो फेसबुकमा स्टाटस लेखेकी थिइन् ।
साँझ ६ बजेतिर विराटनगरस्थित होटल रत्नामा कार्यक्रम सकेर आफ्नो स्कुटी पर्खिरहेको बेला अध्यक्ष शिवाकोटीले दुव्र्यवहार गरेको बताइन् । कार्कीले भनिन्, ‘मेरो साथीलाई अँगालो हाल्न खोज्नुभयो, साथी तर्किएपछि मलाई अँगालो हाल्नुभयो । गाडीमा बस्दा बोलाएपछि चेतावनीसहित ढोका ढप्काइदिएँ ।’
दुव्र्यवहार बारे फेसबुकमा सार्वजनिक गरेपछि स्टाटस हटाउन दबाव आएको उनले बताइन् । वाणिज्य सङ्घ मोरङका केही व्यक्तिहरूले आफ्नो इज्जतका लागि भए पनि स्टाटस हटाउन गरेको दबाव उनले अस्वीकार गरेकी छन् । आफूमाथि भएको घटना बारे प्रहरीलाई समेत जानकारी दिएको कार्कीले बताइन् ।